लुम्बिनी प्रदेश सरकारको निर्णयः ६ जना क्रिकेट खेलाडीलाई एक/एक लाख दिएर सम्मान गरिने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने निर्णय गरेको छ।

 

सोमबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा नेपाललाई पुर्‍याउन सफल भएको भन्दै प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए ।

आईसीसी लिग २ अन्तर्गत भएको प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गरी नेपाललाई विश्वभर चिनाउँदै प्रदेशको गौरव बढाएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान नवलपरासीका रोहित पौडेल, रुपन्देहीका कुशल भुर्तेल, रुपन्देहीका कुशल मल्ल, रुपन्देहीका मौसम ढकाल, गुल्मीका सोमपाल कामी र प्यूठानका प्रतिशत जिसीलाई सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए।

त्यस्तै यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पु¥याउन सफल भएका लुम्बिनी प्रदेशका पाँच जना खेलाडीहरुलाई पनि जनही पचास हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय भएको छ।

हालै युएईमा सम्पन्न यु–१९ एसिया छनोट प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका यु–१९ का कप्तान रुपन्देहीका देव खनाल, रुपन्देहीका दुर्गेश गुप्ता, कपिलबस्तुका आकाश त्रिपाठी, बर्दियाका विशाल विक्रम केसी र अर्घाखाँचीका उत्तम थापा मगरलाई ५० हजार नगदसहित सम्मान गर्ने निर्णय भएको छ।

तपाईको प्रतिक्रिया