दशरथ घिमिरे

देउखुरी । भालुबाङको पुल्चोकबाट दैनिक एक ट्याक्टर फोहोर संकलन हुने गरेको छ तर संकलन भएको फोहोर कहाँ फाल्ने निश्चित ठाउँ छैन । अस्थायीरुपमा राप्ती सामुदायिक वन क्षेत्रमा फालिदै आएको छ तर यो दीर्घकालीन व्यवस्थापन भने होइन ।
बेला बखत सामुदायिक वन र स्थानीय सरकारबीच फोहोर व्यवस्थापनको विषयलाई लिएर ‘टसल’ पर्ने गरेको छ । स्थायीरुपमा डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापन सधैंको ‘किचलो’को विषय बन्न पुगेको हो । देउखुरीको पूर्वी क्षेत्र भालुबाङ र आसपासको क्षेत्रमा जनघनत्व बढ्दो छ । यहाँ तीब्र शहरीकरण पनि हुँदैछ । पछिल्लो पटक लुम्बिनी प्रदेशको राजधानी क्षेत्र बनेपछि फोहोर बढ्न थालेको छ । अहिले मानिसहरुको आवातजावत र बसोवास बढ्ने क्रममा छ । यसबाट फोहोर समेत बढेर गएको छ । राप्ती गाउँपालिका वडा नं. १ मा रहेको राप्ती सामुदायिक वन क्षेत्रमा पुल्चोकको फोहोर फालिदै आएको छ । नौ महिना अघिबाट त्यहाँ फोहोर लैजान थालियो । बीचमा पालिकाभरीकै फोहोर थुपार्न थालेपछि बिरोध भयो । त्यसपछि केही समय फोहोर फाल्न रुक्यो । फेरि फोहोर बढेपछि दीर्घकालीनरुपमा व्यवस्थापन नहँुदासम्म पुल्चोकको मात्रै फोहोर फाल्न दिने सहमति बन्यो । यही सहमतिको आधारमा अहिले अस्थायी रुपमा फोहोर फाल्ने काम भइरहेको छ ।
सामुदायिक वन क्षेत्रमा फोहोर फाल्ने काम दीर्घकालीनरुपमा उपयुक्त नभएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खिमविक्रम शाहले बताउनुभयो । ‘वडाको फोहोर वडामै व्यवस्थापन गर्ने हो भने यस प्रकारको समस्या आउने थिएन’– उहाँले भन्नुभयो– ‘सबै वडामा सामुदायिक वन छन् । त्यता छलफल नगरेर हाम्रो वनमा मात्रै फाल्न खोज्नु उचित हो र ? ’ सामुदायिक वन क्षेत्रमा फोहोर फाल्ने उचित नभएको तर्क उहाँको छ । ‘वन, वातावरण संरक्षण गर्ने कुरा गर्छौं तर त्यही वातावरणलाई असर पार्ने काम हुने गरेको छ’– उहाँले भन्नुभयो– ‘छिटो स्थानीय सरकारले दिगो फोहोर व्यवस्थापनको योजना बनाओस् र कार्यान्वनयमा ल्याओस् ।’
राप्ती गाउँपालिकाले भालुबाङ बजार क्षेत्रको फोहोर संकलन गर्ने गरेको छ तर पूर्व–पश्चिम राजमार्गसँग जोडिएका अन्य बजारबाट फोहोर संकलन गरेर व्यवस्थापन गर्न नसकेको फोहोर फैला व्यवस्थापनका फोकल पर्सन सुरेश बइमाले जानकारी दिनुभयो । ‘दीर्घकालीनरुपमा फोहोर फाल्ने ठाउँ अझै निर्धारण भएको छैन् । अस्थायीरुपमा फोहोर उठाउने र फाल्ने काम भइरहेको छ’– उहाँले भन्नुभयो– ‘निश्चित ठाउँको अभाव छ । कहिले कता, कहिले कताको नाम आइरहन्छ । तर निश्चित ठाउँ भेटिएको छैन ।’ लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बन्न पुगेको हो ।
राप्ती नदीमा फालिन्थ्यो फोहोर
पुल्चोक र भालुबाङ बजार क्षेत्रको फोहर राप्ती नदीमा फाल्ने गरियो । निश्चित ठाउँ नहुदा बजारको प्लास्टिक र घरभित्रबाट निस्किएको फोहोर समेत राप्ती नदीमा फाल्ने गरिएको थियो । फोहोर व्यवस्थापनको लागि निश्चित ठाउँ नहँुदा स्थानीयले नदीमा समेत फोहोर फाल्नु पर्ने अवस्था सिर्जना भएको थियो । अघिल्लो वर्ष आएको बाढीले फोहोर सबै बगाएर लगेको थियो । यो दीर्घकालीन र उपयुक्त विकल्प थिएन । केही समय रामजहदी सामुदायिक वन क्षेत्रमा पनि फोहोर फालियो । व्यवस्थापनको नाममा जलाउने गरियो । त्यहाँ फोहोरले थेग्न सकेन । अहिले फेरि राप्ती सामुदायिक वन क्षेत्रमा फाल्ने गरिएको छ । त्यहाँ पनि दीर्घकालीन विकल्प नरहेको राप्ती सामुदायिक वन उपभोक्ता समितिका सल्लाहकार महेश रिजालले बताउनुभयो । ‘वन क्षेत्रमा फोहोर फालिदा चौतर्फी असर गर्छ’– उहाँले भन्नुभयो– ‘वन क्षेत्रमा फोहोर फाल्ने कार्य उचित विकल्पभित्र पर्र्दैन ।’ अबको निकास भनेको सामुदायिक वन क्षेत्रमा फोहोर नफालेर दीर्घकालीन रुपमा व्यवस्थापन गर्नुपर्ने भनाइ उहाँको छ ।

तपाईको प्रतिक्रिया