दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले बर्दिया अस्पताल, गुलरियामा प्रदेश स्वास्थ्य सेवा, मेडिकल जनरलिस्ट समूह, एघारौं तहका डा. सुवास पाण्डेलाई पदस्थापन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, सामाजिक विकास मन्त्रालयबाट पेश भएको सडक आश्रित मानव व्यवस्थापन कार्यविधि, २०८३ लाई कानुन सचिवको परामर्श लिएर स्वीकृत गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी नव नियुक्त स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेलाई दिने निर्णय पनि गरेको छ ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट सन्तुलित, यथार्थपरक र परिणाममुखी बनाउने गरी आवश्यक ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिनुभएको सरकारका प्रवक्ता घिमिरेले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया