काठमाडौं । गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भन्ने सार्वजनिक अभिव्यक्तिका सन्दर्भमा निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई ‘स्पष्टीकरण’ सोधेको छ। आयोगले चुनाव जित्न १० करोड खर्च गर्ने गाउँपालिका अध्यक्षबारे जानकारी दिन प्रचण्डसँग आग्रह गरेको छ।

प्रचण्डले साउन ९ गते एक कार्यक्रममा गाउँपालिका अध्यक्षमा चुनाव जित्न १० करोड रुपैयाँसम्म खर्च भएको सूचना आफूले पाएको बताएका थिए। ‘गाउँपालिका अध्यक्षमा चुनाव जित्नका लागि १० करोड रुपैयाँसम्म खर्च भएको सूचना आफूले पाएको छु,’ प्रचण्डले भनेका थिए।
आयोगले प्रचण्डको उक्त भनाइप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै १० करोड खर्च गरेर चुनाव जित्ने गाउँपालिका अध्यक्षबारे जानकारी दिन भनेको हो।
कानुन बमोजिम तोकिएको सीमाभित्र नरही हदभन्दा बढी खर्च गरेकाको लगत संकलन गर्दै गरेको अवस्थामा पूर्वप्रधानमन्त्री समेत रहेका व्यक्तिबाट आएको अभिव्यक्तिलाई प्रमाणको रुपमा लिनसक्ने भएर प्रचण्डलाई सूचना मागेको निर्वाचन आयोगले बताएको छ। आयोगले प्रचण्डलाई सोधेको पत्रमा गर्न पाउने खर्चको हदभन्दा ज्यादा रहेकोले कारबाही गर्नुपर्ने भएकोले सूचना दिन भनेको छ।
‘स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण आयोगले तोकेको कार्यालयसमक्ष नबुझाउने उम्मेदवारमाथि कारबाही प्रक्रिया सुरु गरिसकेको अवस्था रहेको छ,’ आयोगले प्रचण्डलाई पठाएको पत्रमा भनिएको छ, ‘संचार माध्यमहरूमा प्रकाशित प्रसारित भएको तपाईंको अभिव्यक्ति बमोजिम तपाईंले पाएको सूचना अनुसार गाउँपालिकाको अध्यक्षमा चुनाव जित्न १० करोड रुपैयाँसम्म खर्च गर्ने उम्मेदवारबारे सूचनाको साथै आयोगले तोकेको खर्चको हदभन्दा बढी खर्च गर्ने उम्मेदवार बारेको वस्तुगत सूचना आयोगलाई उपलब्ध गराई दिनु हुन अनुरोध गरिन्छ।’

तपाईको प्रतिक्रिया