दाङमा घरेलु हिंसाबाट किशोरी मृत्यु प्रकरण: श्रीमान् पक्राउ

दशरथ घिमिरे

 

दाङ – १७ वर्षीया किशोरीको घरेलु हिंसाबाट मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा उनका श्रीमान्‌लाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सामान्य विवादका क्रममा कुटपिटबाट गम्भीर घाइते भएकी शान्तिनगर गाउँपालिका-२ केराघारीकी १७ वर्षीया खिमी परियारको उपचारका क्रममा मृत्यु भएपछि फरार रहेका उनका श्रीमान् २१ वर्षका सुमन आले मगरलाई तुलसीपुर उपमहानगरपालिका-५ न्युरोडस्थित एक गेस्ट हाउसबाट पक्राउ गरिएको हो।

मृतककी आमा राममाया दमाईले दिएको किटानी जाहेरीपछि उनलाई पक्राउ गरिएको हो। प्रहरीले दाङ जिल्ला अदालतबाट सात दिनको म्याद थपेर सुमन आले मगरलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार पुस १२ गते बिहान करिब ९ बजे तुलसीपुर उपमहानगरपालिका-५ न्युरोडस्थित रुकुमेली गेस्ट हाउसमा श्रीमान्‌ले कुटपिट गर्दा खिमी परियार गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि केयर सिटी अस्पताल नेपालगञ्ज लगिएको थियो। उपचारकै क्रममा पुस १८ गते उनको मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया