बुटवलका डिएसपी केसीले तिलोत्तमाका वडाअध्यक्षलाई स्विमिङ पुलमा धकेले

 

 

बुटवल । आइतबार दिउँसोदेखि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रहरी र जनप्रतिनिधिबीचका धड्पकडका भिडियो सार्वजनिक भएका छन् । जसमध्ये एक प्रहरीले वडाध्यक्षलाई पानीमा धकेलेको भिडियोले भने आलोचनासँगै बढी चर्चा पाएको छ ।

ती प्रहरी हुन् इलाका प्रहरी कार्यालय बुटवलका डिएसी ठगबहादुर केसी । उनले तिलोत्तमा नगरपालिका वार्ड नं. ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पानी धकेलेका छन् । सार्वजनिक भिडियोमा देखिए अनुसार डिएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई स्विमिङ पुलमा धकेलेका छन् ।

तिलोत्तमा नगरपालिकाले आइतबार बजेट पास गर्नका लागि बोलाइएको नगरसभामा मेयर रामकृष्ण खाँणलाई अवरोध गर्न खोजेको भन्दै डिएसपी केसीले उनलाई स्विमिङ पुलमा फालेका हुन् ।

नगरसभा मणिग्राम पार्टी प्यालेसमा आयोजना भएको थियो । नगरपालिकाको बजेट पास गर्ने विषयमा नगर प्रमुखले एमालेका जनप्रतिनिधिलाई माइन्युटमा हस्ताक्षर गर्न नदिई प्रमुख कार्यकारी अधिकृत जीवन ज्ञवालीलाई लुकाउन लगाएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरिरहेका थिए । आक्रोशित डिएसीले वडाध्यक्षलाई पानीमा धकेलेपछि एमालेका अन्य जनप्रतिनिधिले प्रहरी दमनको चर्को विरोध गरेका छन् ।

नगरसभा सुरु भएसँगै मेयरले गणपूरक संख्या नपुगेको भन्दै रोक्न खोजेपछि उपमेयर जागेश्वरी चौधरीसहितका एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेका थिए। आइतबार पनि बजेट पास हुन सकेन भने प्रमुख कार्यकारी अधिकृत जीवन ज्ञवालीको योजनामा प्रहरीले वडाध्यक्षमाथि आक्रमण गरेको भन्दै उनको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

तिलोत्तमामा नेपाली काँग्रेस र नेकपा एमालेका जनप्रतिनिधिहरु बीचको बिवादले अझैसम्म प्रस्तावित बजेट पारित हुन सकेको छैन । बजेट निर्माण अघि करको दायरा घटबढको विषयदेखि बाझाबाझ गरेका उनीहरु एकले अर्को पक्षलाई कमजोरी देखाउँदै बजेट पारित गरेका छैनन् ।

 

 

 

 

तपाईको प्रतिक्रिया