काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छन्। शुक्रबार प्रतिनिधि सभामा भएको मतदानमा उनी १४८ मत प्राप्त गर्दै उप सभामुखमा निर्वाचित भइन्।

उपसभामुख निर्वाचनका लागि शुक्रबार प्रतिनिधि सभामा निर्वाचन भएको थियो। उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा र राजमोले समर्थन गरेका थिए । भुसालको प्रस्तावक देव गुरुङ र लक्ष्मी चौधरी समर्थक थिए।
शुक्रबार प्रतिनिधि सभाका २४२ सांसद उपस्थित रहेकोमा मतविभाजन प्रक्रियाबाट भएको मतदानमा भुसालले १४८ मत प्राप्त गरेकी हुन्।
भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ९३ मत परेको थियो। प्रस्तावमा मत दिन्न भन्ने विकल्पमा १ मत परेको थियो।
भुसाल निर्वाचित भएसँगै नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतदान गरिएन।
भुसाल दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन्। यही संसदको आरम्भमा उनी एमालेकी सांसद शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन्। भूसाललाई यसपल्ट सत्ता गठबन्धनका ५ दलसहित लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको थियो।
२०७४ सालको निर्वाचनमा भुसाल समानुपातिक तर्फबाट सांसद निर्वाचित भएकी हुन्। २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा उनी अर्घाखाँचीबाट निर्वाचित भएकी थिइन्। त्यसअघि २०५६ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भने उनी पराजित भएकी थिइन्। २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा पनि उनी पराजित भएकी थिइन्।

तपाईको प्रतिक्रिया