
देउखुरी । दाङ–देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले पत्रकारको हत्या तथा सञ्चार गृहमा गरिएको तोडफोड, आगजनी बिरुद्ध आइतवार राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा बिरोध कार्यक्रम गरेको छ । गत चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादीहरुले एक घरमा आगजनी गरेका थिए । राजावादीहरुको क्रूर व्यवहारको भिडियो खिच्नको लागि आफ्नो पत्रकारिताको धर्म निभाईरहेका एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकलाई ज्युउँदै घरमा आगो लगाएर हत्या गरेको र सञ्चार गृहमा लगाईएको आगजनी तथा तोडफोडका बिरुद्ध मञ्चमा आवद्ध पत्रकारहरूले निधारमा कालोपट्टी बाँधेर बिरोध जनाएको हुन् ।
नागरिकको हकहित तथा देश निर्माणमा पत्रकारिताको भुमिका निर्वाह गरिरहेका पत्रकारको हत्या, सञ्चार गृहमा गरिएको तोडफोड आगजनीका बिरुद्ध मञ्चले विभिन्न नारा लगाएर विरोध सभा समेत गरेको थियो ।
बिरोध कार्यक्रममा बोल्ने पत्रकारहरुले एक कुशल पत्रकारिताको भुमिका निर्वाह गरिरहेका पत्रकारको आगोमा जलाई गरिएको हत्या तथा जनताको हकहित, राष्ट्र निर्माणमा पत्रकारिताको क्षेत्रबाट ठुलो भुमिका निर्वाह गरिरहेका सञ्चार गृहमा गरिएको तोडफोड तथा आगजनी निकै निन्दनीय रहेको बताएका छन् ।
विरोध सभालाई मञ्चका प्रमुख संरक्षक तथा प्रगतिशिल पत्रकार संघ नेपाल केन्द्रीय सचिवालय सदस्य महेश रिजाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य आसा गौतम, प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय सदस्य विदुर एमसी, राप्ती प्रेस अध्यक्ष अर्जुनकुमार अधिकारी र वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरुले विरोध मन्तव्य व्यक्त गरेका थिए । उनीहरूलाई विभिन्न नारा लगाउँदै पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्न र रजकका हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग समेत गरेका थिए । बिरोध प्रदर्शन कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

तपाईको प्रतिक्रिया