राप्ती उपत्यका (देउखुरी) मा संस्थागत विद्यालयको हालको अवस्था र भविष्य

 

 

पूजा खड्का

संस्थागत विद्यालय भनेको आम भाषामा निजी (प्राइभेट) विद्यालय भन्ने बुझिन्छ । विद्यालय चाहे सामुदायिक होस् वा संस्थागत, उद्देश्य एउटै हुन्छ । विद्यालय सेवा क्षेत्रमा पर्दछ । विद्यालयले दक्षजनशक्ती शिक्षक शिक्षिका मार्फत अब्बल शिक्षा प्रदान गर्नुनै मुख्य सेवा हो । राप्ती उपत्यका (देउखुरी) मा हाल संस्थागत विद्यालयहरू छ्‌याप छ्‌याप्ती छन् र खुल्ने क्रम पनि जारी छ । संस्थागत विद्यालयहरुले सामुदायिक विद्यालयहरूका भारलाई सन्तुलनमा राख्न मद्दत गरेका छन् । राप्ती उपत्यका (देउखुरी) लुम्बिनी प्रदेशको राजधानी भइसकेको हालको परिस्थितीमा यसलाई शैक्षिक हबको रूपमा विकास गर्नुपर्ने अपरिहार्यता र चुनौती दुवै छ ।

संस्थागत विद्यालयहरूको विस्तार हुनु राम्रो पक्ष हो तर नाफा मुखी मात्र नभई उच्च गुणस्तरिय, अनुशासित, परियोजना मैत्री, टेक्नोलोजी मैत्री, खेल मैत्री व्यवहारिक शिक्षा र संस्कारयुक्त शिक्षा प्रदान गर्न सकेमात्र स्थापित गर्न सकिन्छ ।

संस्थागत विद्यालय प्राइभेट विद्यालय भएकाले अधिकांश विद्यालयमा दुई चार जनाको बोलवाला रहेको पाइन्छ । सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयका शिक्षक शिक्षिका कर्मचारी हरुले कम वेतनमा काम गरेको पाइन्छ तर मेहेनत दोब्बर तेब्बर गरिरहेका हुन्छन् । शिक्षण पेशा एक मर्यादित पेशा भित्र पर्दछ । शिक्षण पेशा योग्यता पुगेका जो सुकैले ग्रहण गर्न सक्छन् तर असल र अब्बल शिक्षक शिक्षिका बन्नु चुनौतीपूर्ण काम हो । शिक्षक शिक्षिकाको लागि शैक्षिक योग्यता एउटा अहम् पाटो हो तर शैक्षिक योग्यताका साथसाथै शिक्षण कला कम शिक्षक शिक्षिकामा रहेको पाइन्छ । शिक्षक शिक्षिकाले सर्वप्रथम आफ्नो शैक्षिक र शैक्षणिक गतिविधी प्रति स्वयम् सन्तुष्ट हुन सक्नुपर्छ ।

विद्यालय प्रशासनले आफ्ना शिक्षक शिक्षिकाहरुको सूक्ष्म निगरानी, नियमन गर्ने र अब्बल शिक्षक शिक्षिकालाई निश्पक्षरूपमा प्रोत्साहित, पुरस्कृत गर्ने क्रियाकलाप गर्नसके मात्र उच्च मनोवल र आत्म सन्तुष्टीका साथ संस्थागत विद्यालयहरूको शिक्षण सिकाई क्रियाकलाप निर्वाधरूपमा अघि बढ्न सक्छ । संस्थागत विद्यालयहरूको भविष्य राम्रो पनि छ । चुनौतीपूर्ण पनि छ । कसरी बढि भन्दा बढि नाफा कमाउने ध्यय मात्र नराखी आफ्ना शिक्षक शिक्षिका कर्मचारीहरूको उच्च मनोवल कायम राखी उचित मूल्याङ्कन र निश्पक्षियता कायम राख्न सकेमात्र संस्थागत विद्यालयहरुको भविष्य उज्जवल हुन्छ र स्थापित हुन सक्छ ।

तपाईको प्रतिक्रिया