दशरथ घिमिरे/ दाङ–भेरी नदीको पानीलाई बबई नदीमा झारेर बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने महत्वकांक्षी लक्ष्य छ ।

यो लक्ष्य पूरा गर्नेगरी राष्ट्रिय गौरवको आयोजनाको रुपमा भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना लागु छ । सिंचाई मात्रै नभइ विद्युत उत्पादन र खानेपानीको समस्या समाधान गर्ने उद्धेश्य गाँसिएका छन् ।
समुदायस्तरमा आयोजनाले प्रभावित स्थानहरुको संरक्षणमा भने खासै चासो नदिएको गुनासो बढ्दै गएको छ । लुम्बिनी र कर्णाली प्रदेशको सिमनामा आयोजना निर्माणको काम भइरहेको छ । बबई नदीले सिमना छुट्याएको छ ।
बबई नदीको एउटा किनारमा तटबन्ध गरिएको छ भने अर्काे किनारमा तटबन्ध नहुदा बाँसगढी–१ चेपाङ्ग बस्ती तर्फ नदीको बहाव ढल्किएको छ । यसले गर्दा जोखिम थपिदै गएको गुनासो स्थानीयहरुको छ ।
‘आयोजना सञ्चालन गर्दा गरिएको सम्झौता पनि लागु भएन । हाम्रो बस्ती असुरक्षित छ’ स्थानीय सरुबीर सुनारले भने,‘नक्साको आधारमा यो भन्दा परपट्टीको क्षेत्र बर्दिया जिल्ला पर्छ भनिएको छ । तर, त्यसको छिनोफानो भएको छैन् ।’
अबको २ बर्ष भित्र भेरी नदिको पानी बबई नदीमा झारेर सिंचाइ, विद्युत उत्पादन सुरु हुनेगरी काम भइरहेको आयोजनाका निर्देशक रणबहादुर बम बताउँछन् । बहुउद्देश्यीय आयोजनाको ६५.८ प्रतिशत भौतिक प्रगति गरेको, जस अन्तरगत टनेल निर्माण कार्य सम्पन्न भएको, सिभिल निर्माण कार्यको भौतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्रोमेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको भएको छ ।
हाइड्रोमेकानिकलको भौतिक प्रगति ३९ प्रतिशत र प्रशारणलाइनको भौतिक प्रगति ५ प्रतिशत भएको छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवका आयोजना हो ।
बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट जलबिद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । १२ महिना सिंचाइ र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
आर्थिक बर्ष २०६८/०६९ बाट भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढेको थियो । भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्याउनुका साथै ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने छ ।
सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने प्रक्षेपण छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ किलोमिटरको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ बैशाख ३ गते ‘ब्रेक थ्रु’ गरिएको थियो । चीनको सीआइसी र चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)को संयुक्त निर्माणमा बनिरहेको छ ।
लुम्बिनीका मुख्यमन्त्रीले गरे छलफल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्ने बारेमा आयोजना कार्यान्वयन सम्बद्ध पक्ष संग छलफल गरेका छन् ।
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा गरेका मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक रहेको र त्यस तर्फ जुट्न ध्यानाकर्षण गराए ।
‘आयोजनाको काम अलि सुस्ताएको छ । कामलाई गति प्रदान गर्नुस । छिटो काम अघि बढ्छ कि भन्ने थियो तर, काममा बिलम्ब भयो’ उनले भने,‘रिजल्ट छिटो दिनेगरी काम सम्पन्न गर्नुपर्ने छ ।’ लुम्बिनी प्रदेशको कृषि, उर्जा र खानेपानी क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने आशा गरिएको बताए ।
आयोजनाको काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षित हुनेगरी गर्नुपर्ने बताउदै उनले नदी कटान र विपद जोखिम न्यूनीकरण गरेर काम गर्न अनुरोध पनि गरे ।

तपाईको प्रतिक्रिया