दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

दाङ – दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

 

आइतबार दिउँसो खाद्रे वनहरीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु प्र ०२–००१ प १७१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले जानकारी दिए।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ३ खमारी निवासी १६ वर्षीय दिपेन्द्र वली रहेका छन्। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको डिएसपी ठकुरीले बताए।

त्यस्तै, घाइते हुनेहरुमा मोटरसाइकल चालक तुलसीपुर–४ कल्लेखोला निवासी १७ वर्षीय गणेश खड्का र पछाडि सवार घोरनेटी निवासी १८ वर्षीय सन्दीप वली रहेका छन्।

सन्दीपको अवस्था गम्भीर छ। घाइते वलीको राप्ती लाइफ कियर हस्पिटल मोतीपुरमा उपचार भइरहेको डिएसपी ठकुरीले जानकारी दिए। साथै मोटरसाइकलमा तीन जना सवार रहेका थिए। मोटरसाइकल सडकदेखि ५ मिटर तल खसेको थियो।

तपाईको प्रतिक्रिया