दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बलियो बनाउनका लागि बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको बताएका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को प्रशासनिक भवनको उद्घाटन गर्दै उनले विगतभन्दा वर्तमानमा धेरै उपलब्धि प्राप्त भएको पनि बताए।
जनतामा निराशाको खेती गर्नेहरुका कारण समाजमा अराजकता बढेको उनको भनाइ थियो। उनले राजनीतिक अस्थिरताका कारण विकासमा समस्या सिर्जना भएको बताए।
कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाका अब १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको जानकारी दिए। उनले यसै महिनामा कृषि, पशु शाखा, वडा र स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा सुरु गरेको बताए।
तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १९ तोप्पापानीमा २०७४ सालमै शिलन्यास भए पनि निर्माण कार्य अधुरो रहेको थियो। वडाध्यक्ष प्रेमनाथ योगीले घोराही आँखा अस्पताल र बिजौरी छिल्लीकोट सडकखण्डकै नजिकमा सबै वडावासीको मध्यबिन्दुमा वडा कार्यालय भवन निर्माण गरिएको बताए।

तपाईको प्रतिक्रिया