दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीअनुसार प्रतिफल आउने योजनाहरुको कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिएका छन्।

प्रदेश विकास समस्या समाधान समितिको बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रतिफल दिनेखालका योजनाहरुलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
‘जुन काममा हात हाल्छौँ। त्यसबाट परिणाम आउनुपर्छ। प्रतिफल आउने योजनाहरुलाई विशेष जोड दिएर अघि बढाऔँ,’ मुख्यमन्त्री आचार्यले भने।
प्रदेश सरकारले अघि बढाएका आयोजना समयसीमाभित्रै सम्पन्न गर्ने गरी भूमिका बढाउन मन्त्रालय तथा मातहतका नियकालाई निर्देशन दिए।
प्रदेश समस्या समाधान समितिको बैठकबाट गत आर्थिक वर्ष २०८०/०८१ म वित्तीय हस्तान्तरण शीर्षकअन्तर्गत संघीय सरकारबाट विनियोजन भएको वित्तीय समानीकरण अनुदानको प्राप्त हुन बाँकी रहेको प्राप्त हुनुपर्ने विषय उठाइएको छ।
साझा अधिकार सूचीमा रहेका विषयमा कार्य बाँडफाँडमा स्पष्ट मापदण्ड बनाई लागु गर्ने र प्रहरी समायोजनको कुरा छिटो टुंगो लगाउनुपर्ने, प्रदेश र स्थानीय तहमा कर्मचारी परिचालनको सन्दर्भमा प्रमुख प्रशासकीय अधिकृत प्रदेशले पठाउने गरी व्यवस्था गर्नुपर्ने, वन क्षेत्रको जग्गाको प्रयोग र आयोजना कार्यान्वयनमा प्रक्रियागत विषयमा अधिकार प्रत्यायोजन हुनुपर्नेलगायतका विषयलाई उठाइएको छ।
यस्तै, बैठकले प्रदेश सरकारले अघि बढाएका विभिन्न १६ वटा विषयलाई प्राथमिकतामा राख्दै समस्या समाधान गर्ने गरी अघि बढाइने भएको छ। बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड पुस मसान्तभित्र तयार पार्ने समय तोकिएको छ।

तपाईको प्रतिक्रिया