वन मन्त्रालयले गर्‍यो एकैपटक १२४ जना कर्मचारीको सरुवा

दाङ- लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १२४ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ।

 

लुम्बिनी प्रदेश सरकारको नीतिअनुसार वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौं तहसम्मका १२४ जना कर्मचारीको सरुवा गरेका हुन्।

मन्त्रालयले सार्वजनिक गरेको सरुवा लिष्टमा दुई वर्षभन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरूको नाम परेको छ। दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति प्रदेश सरकारको रहेकाले सोही नीति बमोजिम अवधि पुगेका सबै कर्मचारीका सरुवा गरिएको लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री कुर्मीले बताए।

एकै स्थान र जिल्लामा बसेर लामो समय काम गर्दा कामको प्रभावकारिता घटेर जाने हुँदा सरुवा गरिएको जानकारी दिँदै कर्मचारीको नियमित सरुवा नहुँदा जिल्लामा समस्या पनि सिर्जना भइरहेको गुनासा आएकाे बताए।

मन्त्रालयले वन प्रशासनलाई व्यवस्थित र चुस्त बनाउन सरुवाको निर्णय गरेको मन्त्रालयले जनाएको छ। निर्णयबाट प्रभावित भएर अन्य मन्त्रालयले पनि दुई वर्षभन्दा बढी अवधि पुगेका कर्मचारीको सरुवा गर्ने मन्त्रालयका कर्मचारीको भनाइ छ।

तपाईको प्रतिक्रिया