दशरथ घिमिरे

देउखुरी । लमही नगरपालिका–६ निवासी शेषमणि अधिकारीको लमही–कोइलावास सडक किनारमा सर्टिङ सुटिङको व्यवसाय छ । अधिकारीले आफ्नो पुरानो घरमा व्यवसाय चलाउँदै आउनुभएको छ । हुलाकी सडकमा अधिकारीको पौने एक धुर जग्गा परेको छ । हुलाकी सडक विस्तार गर्दा अधिकारीले जग्गाको मुआब्जा वापत दुई लाख छ हजार रुपैयाँ बुझेको झण्डै आठ वर्ष भइसकेको छ । सडक कालोपत्रे हुँदा घरको पनि मुआब्जा चाहिने आवाज उठेपछि उतिबेला सडक मात्रै निर्माण भयो । सडक क्षेत्रमा पर्ने संरचना खाली गराइएन । तर अहिले लमही–कोइलावास हुलाकी सडक क्षेत्रमा पर्ने संरचना हटाउन पहल शुरु भएको छ । ‘विकास विरोधी त होइनौं हामी । घरको पनि मुआब्जाको पनि कुरा उठेको थियो’– अधिकारीले विगत स्मरण गर्दै भन्नुभयो– ‘संरचनाको हकमा के हुन्छ ? सरोकावाला निकायले सोचिदिनुपर्नेछ ।’
लमही नगरपालिका क्षेत्रभित्र पर्ने सडक संरचना खाली गराउन बाँकी छ । सडक क्षेत्रको दायाँबायाँ १५÷१५ मिटर गरी ३० मिटर खाली गराउनुपर्नेछ । बजार क्षेत्रमा अधिकांश घर सडक क्षेत्रभित्र छन् । ती संरचना हटाएर सडकलाई फराकिलो बनाउने अभियान शुरु गर्ने निर्णय भएको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले बताउनुभयो । ‘सडक क्षेत्रलाई फराकिलो र बजारलाई सुन्दर बनाउने अभियान शुरु गर्दैछौं । ३५ दिने सूचना जारी गरेर संरचना हटाउन आह्वान गरिने छ’– नगर प्रमुख चौधरीले भन्नुभयो– ‘सडक क्षेत्र खुला भएपछि त्यहाँ सडक कालोपत्रे गर्ने, फुटपाथ बनाउने काम अघि बढ्ने छ ।’ सोमवार लमही नगरपालिकामा हुलाकी सडक खाली गराउने विषयमा सरोकारवाला निकायको बीचमा भएको बैठकले सडक सीमा केन्द्र रेखाबाट दायाँबायाँ दुबैतर्फ १५÷१५ मिटर गरी जम्मा ३० मिटरभित्र रहेका संरचनाहरु अबिलम्ब हटाउन ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।
प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीको उपस्थितिमा भएको बैठकले सडक डिभिजन कार्यालय दाङले सार्वजनिक सूचना प्रकाशित गर्ने र सडक क्षेत्र खाली गराउने काम अघि बढाउने निर्णय गरेको सडक डिभिजन कार्यालय दाङका इञ्जिनियर महेश विकले जानकारी दिनुभयो । ‘सडक डिभिजन कार्यालयले सडक क्षेत्र खाली गराउने विषयमा सार्वजनिक सूचना आह्वान गर्नेछ’– इञ्जिनियर विकले भन्नुभयो– ‘सूचना अनुसार पहिलो चरणमा जग्गाधनीहरुले नै संरचना हटाउन थाल्नुपर्नेछ । समय सीमाभित्र नहटाएको खण्डमा सबैको प्रयासबाट खाली गराउने काम अघि बढ्नेछ ।’
सडक क्षेत्रमा पर्ने संरचना हटाएको खाली ठाउँमा कालोपत्रे सडक विस्तार गर्न सडक विभाग र सडक डिभिजन कार्यालयलाई अनुरोध गर्ने समेत निर्णय गरिएको छ । अहिले सडक क्षेत्र कालोपत्रको लागि कुनै बजेट सुनिश्चित भएको छैन । तर सडक क्षेत्र खाली गराउन र कालोपत्रे विस्तार गर्न बजेट अभाव नहुने पूर्व शहरी विकास मन्त्री तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले बताउनुभयो । ‘अहिले सडक क्षेत्र खाली गराउने भनेको मुख्य लमही बजार क्षेत्र हो । यसको दुरी दुई किलोमिटर जति छ । यहाँ काम गर्न चाहिने बजेट माग गर्न भनेका छौं । केन्द्रमा भूमिका खेलेर बजेट सुनिश्चित हुन्छ’– चौधरीले भन्नुभयो– ‘बजेटको कमी हुँदैन । छिटो काम गरेर जनतालाई धुलो, धुवा, हिलोबाट बचाउँछौं ।’ लमहीमा भएको बैठकमा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीलगायत हुलाकी सडक कार्यालयका प्रतिनिधि, वडा अध्यक्षहरु, उद्योगी, व्यवसायी लगायतको सहभागिता थियो ।
सडक बन्यो तर मुआब्जा पाइएन
लमही–कोइलावास हुलाकी सडक औपचारिकरुपमा नेपाल सरकारलाई वि.सं. २०७७ साल चैत १८ गते हस्तान्तरण गरियो । ७६ करोडको लागतमा भारत सरकारको अनुदान सहयोगमा ३३.४६ किलोमिटर सडक निर्माण गरिएको थियो । यो सडक विस्तार गर्दा मुआब्जा वितरणको जिम्मा नेपाल सरकारको थियो । ३६ अर्ब बढी बजेट जग्गाको मुआब्जा वितरणमा खर्च भएको छ । तर लमही नगरपालिका–४ सेम्रहवाका नागरिकहरुले सडकमा परेको जग्गाको मुआब्जा सडक बनिसक्दा पनि पाएका छैनन् । मुआब्जा नपाएको विषयमा पनि अध्ययन गर्ने समझदारी भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताउनुभयो । ‘सडक क्षेत्र खाली गराउन सूचना जारी गर्ने र मुआब्जा नपाएको विषयमा पनि अध्ययन गर्ने समझदारी भएको छ’– प्रजिअ सुवेदीले भन्नुभयो– ‘आठ वर्षअघिको कुरा रहेछ । के–के प्रक्रियाहरु भएका थिए । कहाँ कसरी छुट्न गएको रहेछ अध्ययन गरेर पहल शुरु हुन्छ ।’ छिमेकी गाउँ बलरामपुरको तीन हजार प्रतिवर्गमिटर मूल्य हुँदा सेम्रहवा गाउँको सय रुपैयाँ प्रतिवर्गमिटर मुआब्जा कायम भएको थियो । मुआब्जा रकम थोरै भएपछि स्थानीयले विरोध समेत जनाएका थिए । राजनीतिक दलहरुले प्रतिबद्धता जनाए पनि मुआब्जा रकम अझै नपाएको स्थानीय गणेश कुमालले बताउनुभयो । ‘मुआब्जा रकम पाइएन । हामीले उठाएका आवाजको सुनुवाइ नै भएन’– कुमालले भन्नुभयो– ‘कसैले मुआब्जा पाउने, कसैले नपाउने अवस्था भयो ।’

तपाईको प्रतिक्रिया