दशरथ घिमिरे

दाङ– प्रधानमन्त्री केपी शर्मा ओली र लुम्बिनीका मुख्यमन्त्री सहितका मन्त्रिहरु संग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारीवृद्धितर्फ ध्यान केन्द्रित गर्न लुुम्बिनी प्रदेश सरकारलाई प्रधानन्त्रीले आग्रह गरेका छन्।
सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगिकरण गर्दै त्यसको बजार विस्तार गर्न सुुझाव दिए।
‘अहिले समग्र अर्थतन्त्र ओरालो लागेको छ। भवन, कार्यालय आदि संरचनामा खर्च गरेर तत्काल उत्पादन वृद्धि हुन सक्दैन। हामीसँग ऊर्बर धर्ती, पानी र हावापानी छ। मेहनत गरेर उत्पादन र रोजगारी बढाउन सकिने धेरै आधारहरु छन’प्रधानमन्त्री ओलीले भने,‘यस्ता काममा हाम्रा राजनीतिक दलका सङ्गठन र कार्यकर्ता पनि लाग्नुपर्छ। तिनीहरुले जनतासँग नङ र मासुको सम्बन्ध बनाउनुपर्छ। हामीहरु नियुक्तिमा को जाने÷नजाने खालको साना विषयमा अल्झनु हुँदैन। मुुख्य कुरा, देशको विद्यमान समस्याको समाधान कसरी गर्ने भन्नेमा हाम्रो ध्यान जानुपर्छ।’
उनले अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ÷तरकारी निर्यात र आयात नगर्न ध्यानाकर्षण गराउँदै जनतालाई स्वस्थ्य खाना खुवाउने प्रबन्ध गर्न सम्झाउनुुपर्ने बताए। अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै उनले एमाले र कांग्रेस मिल्दा पनि देश बनाउन नसकिए कस्ले बनाउँछ भन्ने प्रश्न गरे। प्रधानमन्त्री ओलीले हाल घाटा बजेटमा सरकारहरु सञ्चालन भएकाले आफूहरुले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउने गरी काम गर्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमति/सहकार्य र जनताका लागि परिणाम दिने मुख्य विषयलाई ध्यानमा दिन पनि आग्रह गरे।
मुख्यमन्त्री आचार्यले प्रदेशको राजधानी निर्माणको लागी र समग्र पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोगको अपेक्षा राखे। छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललगायत सहभागी थिए।

तपाईको प्रतिक्रिया