शैक्षिक गुणस्तर सुधारको लागि सामूहिक प्रयास आवश्यकः अध्यक्ष विष्ट

 

 

तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शैक्षिक गुणस्तर सुधार गर्नको लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनु भएको छ।

राप्ती गाउँपालिका वडा नं.८ स्थित शंकर माध्यमिक विद्यालय पिपरीले एसईई नतिजाको समिक्षा तथा शैक्षिक गुणस्तर सुधारका लागि
शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले यस्तो बताउनु भएको हो।

यस वर्षलाई गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारको वर्षको रुपमा लिएको बताउदै अध्यक्ष विष्टले शैक्षिक गुणस्तर सुधार गर्न लागि शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षा संबद्ध सम्पूर्ण सरोकारवालाहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । ‘हामीमा अंक र ग्रेडले मात्र मूल्यांकन गर्ने चलन छ’,अध्यक्ष विष्टले भन्नुभयो ‘अङ्क र ग्रेडले मात्र सबै कुराको निर्धारण हुँदैन। यसो भन्दै गर्दा विद्यार्थीले उच्च अङ्क नल्याए पनि हुन्छ भन्न खोजेको होइन । अङ्क सँगसँगै विद्यालयका अन्य कमीकमजोरीहरु पनि सच्याउँदै जानु पर्छ।’

विद्यालयको गुणस्तर सुधार गर्नका लागि अब पालिकाले विद्यालय सँग र विद्यालयले शिक्षकहरू सँग कार्य सम्पादन सम्झौता गरेर अघि बढ्नु पर्ने अध्यक्ष विष्टको भनाइ रहेको थियो। शिक्षाको सुधार बिना अन्य कुराको सुधार हुन नसक्ने बताउदै अध्यक्ष विष्टले विद्यालयहरुले विद्यालयमा भएका साधनस्रोतको अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विकले जिल्ला तथा पालिका तहको एसईई परीक्षाको नतिजा बारे जानकारी गराउदै त्यसको सुधारको लागि शिक्षक, विद्यार्थी र अभिभावक बढी जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

त्यस्तै शाखा प्रमुख विकले आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गरि शैक्षिक सिकाई उपलब्धि वृद्धि गर्न विद्यालयले दिवा आवासीय सेवा सञ्चालन गरि अतिरिक्त कक्षामा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

पूर्व स्रोत व्यक्ति तथा विद्यालयका सल्लाहकार गणेश कुमार चौधरीले एकले अर्कालाई दोष दिएर मात्र समस्या समाधान नहुने बताउदै त्यसको लागि सबैको सहयोग र सहकार्य आवश्यक हुने बताउनुभयो ।

पूर्व शिक्षक कृष्ण गिरीले शैक्षिक गुणस्तर कायम हुन नसक्नुको कारण पहिचान गरि त्यस तर्फ सबै गम्भीर हुनुपर्ने बताउनुभयो । त्यस्तै उहाँले शिक्षकहरूमा पठनपाठनको पूर्व तयारी, विद्यार्थीहरुमा उत्प्रेरणा, अनुशासन सँगै शिक्षक शिक्षकबीच सहकार्य र आत्मीयता हुन जरुरी रहेको बताउनुभयो ।

पूर्व शिक्षक रमेश अधिकारीले सबैले आआफ्नो कर्तव्य पूरा गरे शिक्षाको गुणस्तर सुधार हुने बताउनुभयो । त्यस्तै पूर्व शिक्षक ऋषीराम चौधरीले शिक्षाको उद्वार नितिले एसईईको नतिजामामा असर गरेको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक सुवर्णमान चौधरीले शिक्षकको एक्लो प्रयासले मात्र शैक्षिक गुणस्तर सुधार हुन सक्ने भएकाले सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । त्यस्तै प्रधानाध्यापक चौधरीले समयमै तह गत विषय शिक्षकको व्यवस्था नहुदा पठनपाठनमा समस्या भएको बताउनुभयो ।

आगामी शैक्षिक सत्रमा विद्यालयको शैक्षिक सिकाई उपलब्धि वृद्धि गर्न आफूहरू प्रतिबद्ध रहेको बताउदै प्रधानाध्यापक चौधरीले अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई घरमा पठनपाठनको वातावरण मिलाउनु पर्ने बताउनुभयो ।

विद्यालयका शिक्षक राम कुमार चौधरीले तल्लो कक्षामा पूर्व प्राथमिक कक्षा र उपल्लो तहका कम्जोर विद्यार्थीहरूलाई थप अतिरिक्त कक्षा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा अभिभावक रामकृष्ण सुन्दास, एकराज पोख्रेल, प्रकाश आचार्य, चित्रकला बस्नेत, सनिराम चौधरी, पुरन चौधरी, मिना पोख्रेल लगायतले विद्यालयमा देखिएका समस्या र त्यसको समाधानका उपायहरूको बारेमा सुझाव राख्नु भएको थियो।

कार्यक्रमको सहजीकरण शिक्षक माधव न्यौपानेले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया