राप्ती गाउँपालिका उपाध्यक्षद्वारा बजेट प्रस्तुत गर्न अस्वीकार

 

 

दाङ । देशैभरका स्थानीय तहमा शुक्रबार बजेट प्रस्तुत भएका छन् । उक्त बजेट असार भित्रै पास गर्नुपर्ने छ । तर दाङको राप्ती गाउँपालिकामा आज शुक्रबार बजेट प्रस्तुत हुन सकेन । बजेटको तयारी नपुगेको भन्दै उपाध्यक्ष कमलापती चौधरीले बजेट प्रस्तुत गर्न अस्वीकार गरेकी छिन् । जसअनुसार राप्ती गाउँपालिकामा बजेट प्रस्तुत अन्यौलमा रहने देखिएको छ ।

शुक्रबार ४ बजे बस्नु पर्ने बैठक २ घण्टा ढिला भई बेलुका ६ बजे बसेको बैठकमा उपाध्यक्ष चौधरीले विषयगत समितिको बैठक नबसी बजेट प्रस्तुत गर्न नसकिने बताएकी छिन् । त्यसैगरी वडा अध्यक्षहरूले पनि वडामा बजेट सिलिङ कम भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले असन्तुष्टि जनाउँदै कार्यपालिका बैठकको उपस्थितिमा हस्ताक्षर समेत नगरि बाहिरिएका छन् । आज बसेको कार्यपालिकाको बैठकको पहिलो पटक प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

शिक्षा, स्वास्थ्य र कृषिमा बढी बजेट विनियोजन गर्नु परेकोले वडा तहमा केही बजेट कटौती गर्नु परेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताएपनि वडा अध्यक्षहरुले असन्तुष्टि जनाउँदै बाहिरिएका हुन् ।

बैठकमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष दिपककुमार चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङ लगायतले हस्ताक्षर गरेका छैन् ।

 

तपाईको प्रतिक्रिया