राप्तीमा राष्ट्रिय सरसफाइ सप्ताह सुरु “सरसफाइलाई संस्कारका रूपमा विकास गर्नुपर्छ” : अध्यक्ष विष्ट

दाङको राप्ती गाउँपालिकामा “स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण” निर्माण गर्ने उद्देश्यसहित राष्ट्रिय सरसफाइ सप्ताह शुक्रबारदेखि शुभारम्भका गरिएको छ।

 

शुभारम्भका अवसरमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सहभागीहरूलाई सरसफाइसम्बन्धी शपथ ग्रहण गराउँदै गाउँपालिका परिसरदेखि प्रदेश गेटसम्म राजमार्गको दुवैतर्फ सरसफाइ गरिएको थियो।

यससँगै “एक विद्यार्थी, एक बिरुवा” अभियानको समेत शुभारम्भ गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जानकारी दिनुभयो।

कार्यक्रमका क्रममा ८५ वर्षीय ज्येष्ठ नागरिक लक्ष्मनिया चौधरीको हातबाट गाउँपालिका परिसरमा आँपको बिरुवा रोपिएको थियो।

सप्ताहअन्तर्गत जेठ ४ र ५ गते प्लास्टिक संकलन अभियान, बजार क्षेत्र सरसफाइ तथा व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने भएको छ। साथै विद्यालय परिसर तथा कक्षाकोठा सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरिने सरसफाइ शाखा प्रमुख गीता चौधरीले जानकारी दिनुभयो।

उहाँका अनुसार जेठ ६, ७ र ८ गते नदी, ताल, खोलानाला, मन्दिर तथा सार्वजनिक स्थलहरूको सरसफाइसँगै गाउँघर तथा टोलबस्ती सरसफाइ कार्यक्रम सञ्चालन गरिने छ।

अभियानमा राजनीतिक दल, विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, युवाक्लब, सुरक्षा निकाय, समाजसेवी, सञ्चारकर्मी, आमा समूहलगायत विभिन्न संघसंस्थाको सहभागिता रहने जनाइएको छ।

शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सरसफाइलाई केवल अभियानका रूपमा नभई संस्कार र दैनिक व्यवहारका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँले स्वच्छ र स्वस्थ राप्ती निर्माणका लागि सबै नागरिकको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।

गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले स्वच्छ वातावरण निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउँदै सरसफाइ अभियानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सरसफाइ सप्ताहलाई प्रभावकारी र परिणाममुखी बनाउन सबै शाखा, वडा तथा सरोकारवाला निकायबीच समन्वयात्मक ढंगले कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।

गाउँपालिकाले राष्ट्रिय सरसफाइ सप्ताहले “स्वच्छ र समृद्ध राप्ती” निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया