यातायात सेवाको नाममा विद्यार्थी कोच्दै राप्तीका विद्यालय, अनुगमन गर्ने निकाय बेखबर

 जगत खनाल

 

देउखुरी । नेपालको प्रचलित कानुन अनुसार कुनैपनी यातायात साधनमा सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइदैन । यदि राखे ट्राफिक नियम अनुसार कारबाही हुन्छ । तर त्यो नियम राप्ती गाउँपालिकामा संचालित सामुदायिक तथा संस्थागत विद्यालयमा लागू भएको छैन ।

यातायात सुबिधा दिने बाहानामा राप्तीका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीहरुलाई सिट क्षेमता भन्दा धेरै राखेर यात्रा गराइरहेका छन ।

राप्ती गाउँपालिका बडा नं. २ शान्तिनगरका एक अभिभावकले भने ३ वर्ष देखि यहाँका विद्यार्थीहरु उभिएरै विद्यालय जान बाध्य छन् । ‘विद्यालयको सवारी साधनको भाडा मासिक रुपमै तिर्दै आएका छौं, उने भने ‘तर के गर्नु पुर्वतिर बाट आउदा सवारी साधनमा साना केटाकेटी उभिएर आएका हुन्छ, हाम्रा बच्चाले सिट पाउने आधार नै हुदैन ।’ आखिर कहाँ छ त अनुगमन गर्ने निकाय ? किन मौन छन् सबै अभिभावकहरु ? उनी भन्छन् ‘आफ्ना छोराछोरी लाई उभिएर विद्यालय पठाउन् तर केही बोल्दैनन् ।’

राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख बिश्वास बिकले विद्यालय अनुगमन गर्ने कार्य गाउँपालिकाको भएता पनि विद्यालयका सवारी साधनको अनुगमन गर्न नसकिएको बताए । उनले भने ‘यातायात साधनको अनुमति दिने यातायात कार्यालय र ट्राफिक प्रहरीले अनुगमन गर्नु पर्ने हो ।’

अस्थायी ट्राफिक पोष्ट भालुवाङका प्रमुख हरीभक्त रोकायका अनुसार विद्यालय सवारी साधनले सिट क्षेमता भन्दा धेरै विद्यार्थी बोक्न पाउदैनन् । नियम सबैलाई बराबर नै हुन्छ, छिट्टै नै विद्यायका सवारी साधन नियमन गर्ने र क्षेमता भन्दा धेरै विद्यार्थी भेटीएमा कारवाही गर्ने बताए । बिहानको समयमा काठमाडौं बाट आउने सवारी साधन र विद्यालयका सवारी साधनको चाप अत्याधिक हुने गरेको छ । यस्तो अवस्थामा दुर्घटना भएमा धेरै क्षेती हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया