बासुदेव न्यौपाने
दाङ । सरकारले सन् २०२५ सम्ममा औलोमुक्त नेपाल बनाउने अभियानका साथ नेपाल औलो रणनीतिक योजना २०१४–२०२५ सञ्चालन गरेको छ । सन् २०२५ सम्म अर्थात आगामी वर्ष भित्र औलो निवारण गर्ने सरकारको लक्ष्य रहेको हो। औलो निवारणका लागि स्थानीय औलो बिरामीको संख्या शून्य हुनुपर्छ। तर शून्यमा झार्ने सरकारको यो लक्ष्य निकै चुनौतीपूर्ण देखिन्छ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सरकार सन् २०२२ देखि २०२५ सम्ममा औलोका बिरामी शुल्यमा झार्ने लक्ष्य अनुरुप अगाडी बढेको छ । तर लुम्बिनी प्रदेशमा छिमेकी देशबाट आयातीत औलोको बिरामीको संख्या भने घट्न सकेको छैन । स्थानीय औलोका बिरामीको संख्या घटेपनि भारतबाट आयातीय औलोको बिरामीको संख्यालाई कम गर्न चुनौती रहेको लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका फोकल पर्सन खिमलाल पाण्डेले बताए । यस आर्थिक वर्ष(चैत्रसम्म) मा लुम्बिनी प्रदेशमा २ सय ३१ जना औलाको बिरामी मध्ये १० जना मात्र स्थानीय औलो बिरामीको संख्या रहेको पाण्डेले बताए । पाण्डेले भने २ सय २१ जना खुल्ला सिमाबाट प्रवेश गरेका बिरामी रहेका छन् । यो संख्या गत आर्थिक वर्षको भन्दा धेरै रहेको छ । गत आर्थिक वर्षमा लुम्बिनीमा १ सय ८१ जना औलाको बिरामी मध्ये ८ जना स्थानीय औलोका बिरामी रहेको थिए ।
सन् २०२५ सम्म औलो बिरामीको संख्या शुन्यमा झार्ने लक्ष्य रहेतापनि लमही नगरपालिका वडा नं. ३ मा यस आ. व. मा ३ जनामा स्थानीय औलोका बिरामी भेटिनु आफैमा चुनौती पूर्ण रहेको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदकुमार गिरीले सन् २०२५ सम्म औलो बिरामीको संख्या शुन्यमा झार्ने लक्ष्यका साथ अगाडी बढेको बताए । औलोका कारण नेपालमा सन् २०१६ मा २४ जनाको मृत्यु भएको थियो भने सन् २०२१ मा १ जनाको मात्र मृत्यु भएको थियो । त्यसपछि औलोका कारण कुनै पनि बिरामीको मृत्यु भएको थिएन तर गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा एक जनाको मृत्यु भएको छ । ‘नेपालमा औलो बाट हुने मृत्य शुन्यमा जस्तै छ’ निर्देशक डा. गिरीले भने ‘आगामी तीन वर्ष भित्र औलो बिरामीको संख्यालाई पनि शुन्यमा झार्नेछौं ।’
‘औलोविरुद्धको लडाइँलाई तीव्रता दिऔँ, समतामूलक पहुँचको सिर्जना गरौँ’ भन्ने मूल नाराका साथ बिहिवार विश्व औलो दिवस मनाइएको छ । आ।व। २०८०/०८१मा लुम्बिनी प्रदेशमा औलोको बिरामी सबैभन्दा धेरै भेटिएको छ। लुम्बिनी प्रदेशभित्रका १२ वटै जिल्ला मध्ये यस आर्थिक वर्षको चैत्रसम्म रुकुम पुर्व र रोल्पा बाहेक सबै जिल्लामा औलोका बिरामी भेटिएका छन् ।लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै २ सय ३१ जना औलोका बिरामी रहेको निर्देशनालयका फोकल पर्सन खिमलाल पाण्डेले बताए । उनका अनुसार प्रदेशको सबै भन्दाधेरै बाँकेमा १ सय १९ जना औलोका बिरामी रहेका छन् । दोस्रोमा रुपन्देहीमा ४६ जना, कपिलवस्तुमा ३३ जना, बर्दिया र नवलपरासीमा १०/१० जना, पाल्पामा ५ जना, दाङमा ४ जना, प्युठानमा २ जना,अर्घाखाँचीमा र गुल्मीमा १/१ जना बिरामी फेला परेका छन् ।
औलो रोग विशेषगरी एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने निर्देशनालय जनाएको छ । नेपालमा मुख्यगरी औलोको दुई किसिमका परजीविहरु पाइने गरेको छ। ती हुन्, प्लाज्मोडियम फाल्सिपारम र प्लाज्मोडियम भाइसेक्स। यी दुईमध्ये प्लाज्मोडियम फाल्सिपारमले गराउने औलो रोग बढी जटिल र जोखिमयुक्त हुन्छ।
औलो रोग सर्ने तरिका
गर्भमा रहेको बच्चामा बिरामीलाई रगत दिँदा वा रगत दान गर्ने व्यक्तिमा औलो रोग छ भने औलो बिरामीमा प्रयोग गरिएका खोप निर्मलीकरण नगरी स्वस्थ व्यक्तिमा प्रयोग गरिएमा औलो रोग सर्ने सम्भावना हुन्छ ।
औलोका लक्षण
जनस्वास्थ्य कार्यालयका प्रमुख डा सापकोटाका अनुसार लामुखुट्टेले टोकेको एक हप्तापछि औलोका लक्षण देखिन्छन् । उहाँका अनुसार टाउको दुख्नु, थकाइ लाग्नु, वाकवाकी लाग्नु, अत्यधिक जाडो हुनु, ज्वरो आउनु, बान्ता हुनु र जीउ दुख्नु यसका लक्षण हुन् ।
रोकथाम र नियन्त्रणका उपाय
लामखुट्टेको प्रजनन कम गर्ने, आयु छोट््याउने वा घनत्व कम गर्ने, मानिस र लामखुट्टेको सम्पर्कलाई कम गर्ने उपाय अपनाउनु पर्दछ । औलोविरुद्धको औषधि नरहेकाले लामखुट्टेको रोकथाम नै यसको उपचार हो ।
लामखुट्टेका लार्भा घटाउन लार्भा खाने माछा पाल्ने वा औषधि छर्कने, लार्भा मार्ने जस्तै तेल, रसायन तथा लुगा वा छालामा लामखुट्टे भगाउने औषधि प्रयोग गर्ने, यसबाट बच्न रातमा सुरक्षात्मक लुगा लगाउने, झुलको प्रयोग गर्ने र कीटनाशक विषादी भएको धूप प्रयोग गरेर लामखुट्टेको नियन्त्रण गर्ने तथा सधै झुल टाँगेर सुत्ने गर्नुपर्दछ ।
तपाईको प्रतिक्रिया