दशथर घिमिरे

देउखुरी । घना जंगल । उत्तर र दक्षिण चुरे बाघको बासस्थान थियो । पाका पुस्ताका व्यक्तिले देउखुरीको जंगल बाघको बासस्थान रहेको स्मरण गर्छन् । जंगलमा आश्रित मानिसको संख्या बढ्दै गयो । त्यसपछि जंगली जनावर पनि बसाइ सर्न थाले । वन्यजन्तुलाई पनि संकट आइप¥यो । अहिले विस्तारै वनको हैसियत बढ्दै गएपछि वन्यजन्तुको ओहोर दोहोर बढ्न थालेको छ । देउखुरीको जैविक मार्ग भएर बाघ ओहोरदोहोर गरेको फेला परेको छ ।
पोहर साल गरिएको अध्ययनको क्रममा दक्षिण चुरे क्षेत्रमा बाघ ओहोर दोहोर गरेको फेला परेको हो । बाँके राष्ट्रिय निकुञ्जबाट दाङको दक्षिण चुरे भएर बाघ कपिलवस्तुसम्म पुग्ने गरेको देखिएको छ । वन कार्यालयले राखेको क्यामरा ट्यापिङमा पाटे बाघ फेला परेपछि बाघ ओहोरदोहोर गर्ने गरेको तथ्य भेटिएको छ । ‘जंगलमा बाघ भेटिनु भनेको त्यस क्षेत्रको वन राम्रो भएको मानिनु हो । अर्थात बाघ भएको वन जैविक विविधताले उत्तम भनेर चित्रण गरिन्छ’– संरक्षणकर्मी चिरञ्जीवी खनालले भन्नुभयो– ‘वनको हैसियत बढेसँगै बाघ मात्रै होइन, अन्य वन्यजन्तुहरु पनि भेटिएका छन् । बाघ भएको जंगलमा आहारा प्रजाति भएको पुष्टि हुन्छ । एउटा पारिस्थितिकीय प्रणाली मजबुत भएको मानिन्छ ।’
डिभिजन वन कार्यालय देउखुरीले जैविक मार्गमा राखेको स्वचालित क्यामरामा बाघको तस्विर कैद भएपछि बाटे बाघ जैविक मार्ग भएर आउजाउ गर्दै आएको पुष्टि गरेको छ । कपिलवस्तुमा भेटिएको बाघ दाङको जैविक मार्ग भएर गएको फेला परेको वन कार्यालयले जानकारी दिएको छ । पश्चिममा बाँके राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको सोहिलुवा वन्यजन्तु आरक्षणसँग जोडिएको छ दाङको जैविक मार्ग । वन क्षेत्रमा भएको सुधारले बन्यजन्तु ओहोरदोहोर गर्न सजिलो मात्रै भएको छैन संरक्षणबाट वनको हैसियत समेत बढेको पुष्टि गरेको छ । पोहरसाल एकसय ९७ वटा स्वचालित क्यामरा जडान गरिएको थियो । बाघलगायतका वन्यजन्तुको अवस्था, आहारा प्रजातिको घनत्व र मानवीय चापबारे अध्ययन गर्न क्यामराको सहारा लिइएको थियो ।
जैविक मार्ग भएर नेपालका संरक्षित वन्यजन्तुहरु पाटे बाघ, हुँडार, चौका, हात्तीलगायतका जनावर आवतजावत गर्दै आएको पाइएको छ । बाघलगायतका वन्यजन्तुको संरक्षणको लागि चोरी सिकारी कार्यलाई निरुत्साहित गर्नुपर्ने डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत छोटेलाल चौधरीले बताउनुभयो । वन्यजन्तुको ओहोरदोहोर बढ्दै गर्दा चोरी सिकारीको डर समेत हुने गरेको छ । बन्यजन्तुलाई चोरी सिकारीबाट जोगाउन समुदायस्तरबाट समेत संरक्षणमा योगदान हुनुपर्ने भनाइ चौधरीको छ । ‘देउखुरीको जंगलमा पहिला बाघ थिए । हामीले बाबु, बाजेबाट थाहा पाएको । अहिले पनि बाघ फेला पर्नु संरक्षणको दृष्टिले राम्रो हो’– सहायक वन अधिकृत चौधरीले भन्नुभयो– ‘बाघ मात्रै होइन, अन्य सबैखाले बन्यजन्तुको संरक्षण हामी सबैको साझा सरोकारको विषय बन्नुपर्छ ।’
जिल्लाभित्र वन्यजुन्त हिड्ने जैविक मार्ग भए पनि मानवीय गतिविधि र उपस्थितिका कारण वन्यजन्तु असुरक्षित छन् । तसर्थ वन्यजन्तु र मानव हिड्ने बाटो फरक फरक बनाउन सकियो भने मानव र वन्यजन्तुको द्वन्द्व समेत घटाउन सकिने थियो । डिभिजन वन कार्यालय देउखुरी अन्तर्गत १४८ सामुदायिक वन समुह छन् । यी वन समुहले ५४ हजार चार सय ६० हेक्टर वन क्षेत्र ओगटेका छन् । राष्ट्रिय र सामुदायिक गरी एक लाख नौ हजार छ सय ७२ हेक्टर वन क्षेत्र छ । यी वन क्षेत्रलाई वन्यजन्तुको बासस्थान र आवतजावत गर्ने जैविक मार्गको रुपमा विकास गर्दै लग्न ध्यान दिन आवश्यक छ । पूर्वमा बागमती नदीदेखि पश्चिममा महाकाली नदीसम्मको नेपालको तराई भू–परिधि क्षेत्रभित्र छवटा संरक्षित क्षेत्र र अन्य प्रमुख जैविक मार्गहरु छन् । तराईका पहिचान भएका जैविक मार्गभित्र दाङ लमही, बाँकेको महादेवपुरी, बर्दियाको खाता, कञ्चनपुरको मोहना–लालझाडी पर्दछन् ।

तपाईको प्रतिक्रिया