बासुदेव न्यौपाने
दाङ । सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारले प्रतिबद्धता जनाएपनि कोभिड–१९को महामारी र अन्य कारणहरुले गर्दा नेपालमा पछिल्लो समय बालबालिकाहरुमा दादुरा रुबेलाको महामारी देखिएको छ ।

कोभिड–१९ ले गर्दा नेपालमा दादुरा रुबेलाको खोप लगाउन छुटेका बालबालिकाहरुको संख्यामा बृद्धि भई २०७९/०८० मा दादुराको महामारी देखिएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले जनाएको छ ।
लुम्बिनी प्रदेश पूर्ण खोप प्रदेश घोषण भएपनि २०७९ मंसिर ३ देखि २०८० पुष १५ गतेसम्म दादुरा रुबेलाको महामारीको रुपमा सबै भन्दा धेरै बिरामी बाँकेमा फेला परेको थियो । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार बाँकेमा ३ सय २१ जना दादुरा रुबेलाबाट बालबालिका संकमित भएका थिए । त्यसैगरी बर्दियामा ७२, दाङमा ३९, अर्घाखाँचीमा ११ जनामा बिरामी परेका थिए ।
नियमित दादुरा रुबेला खोपको कभरेज सबै स्थानिय तहमा एकरुपता रहेको छैन । जसका कारण पनि दादुरा रुबेला खोप अभियान २०७६/०७७ सम्पन्नपछि गरिएको सर्भेक्षणबाट दादुरा रुबेला खोपको कभरेज ८४ प्रतिशत मात्र रहेको पाइएको छ ।
दादुरा रुबेला खोप अभियान २०८०/०८१ अन्तरगत प्रदेशस्तरीय समन्वय समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका खोप फोकल पर्सन कुमार थापाले पछिल्लो समय दादुरा रुबेलाका बिरामीको संख्या बढेको हुदा नेपाल सरकारले यहि फागुन १३ देखि २५ गतेसम्म देशव्यापी रुपमा दादुरा रुबेला खोप अभियान संचालन गर्न लागेको बताए ।
प्रदेशस्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्धन पन्थीको अध्यक्षयतामा अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ ।
तराईका २१ जिल्लामा ९ महिनादखि १५ वर्ष उमेर समुहका र पहाडी जिल्लामा ९ महिनादेखि ५ वर्ष उमेर समुहका बालबालिकाहरुमा दादुरा रुबेला खोप अभियान संचालन हुन लागेको हो । यस अभियान अन्तरगत लुम्बिनी प्रदेशमा मात्र ११ लाख ६० हजार ६ सय ६६ जना बालिबालिकाहरुमा खोप लगाउने लक्ष रहेको लुम्बिनी प्रदेश स्वास्थ्य सचिव डा. जनार्धन पन्थीले बताए । त्यसैगरी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद कुमार गिरीले यस अभियान सफल बनाउन सबैको साथ सहयोग रहेको बताए । डा. गिरीले भने यो अभियान नियमित हो, यस भन्दा पहिला नियमित दादुरा रुबेलाको खोप लगाईसकेका बालबालिकाहरुलाई पनि यस अभियानमा खोप लगाउन अनुरोध गरे ।
दादुरा रोक के हो?
मिजल्स भाइरसबाट लाग्ने दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग सामन्यतया ५ वर्ष मुनिका वालवालिकाहरुलाई धेरै लाग्दछ र त्यसले छिट्टै महामारीको रुप पनि लिन सक्दछ । एउटा बिरामीले १८ जनासम्म दादुरा रोग सार्न सक्छ । दादुरा रोग लाग्यो भने यसका जटिलताहरु जस्तै निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले विरामीको मृत्यु समेत हुन सक्छ । खास गरेर यस रोगले कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ ।
दादुरा कसरी सर्दछ ?
दादुराको भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ । यो भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटिमा रही वृद्दी हुने र श्वास नलि एवं अरु भित्रि अंगहरूमा संक्रमण गर्दछ । दादुरा रोग संक्रमण भएको व्यक्तिले खोक्दा, हाछिउ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।
दादुराको लक्षण
दादुरा रोगको पहिलो लक्ष्यण उच्च ज्वरो आउनु र शरीरमा राता विविरा देखा पर्नु प्रमुख लक्षण हुन् । रोगीसँग सम्पर्क भएको १०–१२ दिन पछि ज्वरो आउँछ । यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग देखा पर्दछन् । केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका विमिरा देखा पर्दछन् । यी विमिरा करिव ३ दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन् । यी विमिरा ५, ६ दिन सम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन् । सामान्यतया यो रोगको जिवाणु शरीरमा प्रवेश गरीसकेपछि यसको लक्षण देखिन १४ दिन (घटीमा ७ दिन र बढीमा १८ दिनसम्म) लाग्दछ ।
दादुरा रोगको उपचार
दादुरा रोग लागेपछि यसको खास उपचार छैन । दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुरा बिरुद्धको खोप लिनु नै हो । त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकाहरुलाई जन्मेको ९ र १५ महिनाको उमेरमा दादुरा खोपको दुई मात्रा लगाउनु पर्दछ । रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्काल लगी लक्षण अनुसार र जटिलताको उपचार गर्नु पर्दछ ।

तपाईको प्रतिक्रिया