देउखुरीमा स्थानीय उत्पादनको ब्राण्डिङ, मौवाको फूलबाट वाइन, अल्लोबाट कोट र टोपी

दशरथ घिमिरे

 

देउखुरी । गढवा गाउँपालिका–३ को गोबरडिहा सामुदायिक वनमा मात्रै झण्डै दुई हजार पाँच सय मौवाका रुख छन् । देउखुरी क्षेत्रमा यस्ता मौवाका थुप्रै रुख छन् । फूल दिन सक्ने रुखहरुको सर्वेक्षणबाट वर्षेनि दुई लाख क्वीन्टलसम्म मौवाको फूल संकलन हुन सक्ने पत्ता लागेको छ । यसरी संकलन भएको फूलबाट वाइन उत्पादन गर्न सकिने र त्यसलाई बजारसँग जोड्न थालिएको छ । यसको शुरुवात सामुदायिक वनले आफै थालेको छ ।

गैरकाष्ठ वन पैदावारको समुचित सदुपयोग गरी आर्थिक समृद्धि हासिल गर्ने योजना अन्तर्गत स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्न खोजिएको हो । समुदायस्तरबाट समेत स्थानीय सामग्रीको उत्पादन, बजारीकरण र ब्राण्डिङमा चासो देखिएको छ । ‘हामीकहाँ मौवाका प्रशस्त रुख छन् । ती रुखबाट संकलन हुने मौवाको फुललाई प्रशोधन गरेर वाइन बनाउने र बजारमा बिक्री गर्ने योजना छ’– सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शिवप्रसाद यादवले भन्नुभयो– ‘थारु समुदायमा पुस्तौंदेखि मौवालाई स्थानीय मदिराको रुपमा प्रयोग गर्ने प्रचलन छ । यसलाई अब वाइनको रुप दिएर आयआर्जनमा लगाउनुपर्छ ।’

मुख्यमन्त्री आर्थिक विकास तथा रोजगार कार्यक्रममा समेत मौवाको वाइन बनाउने कार्यक्रमलाई प्रस्तावको रुपमा सामुदायिक वनले अघि बढाएको छ । डिभिजन वन कार्यालय देउखुरीले मौवाको वन बनाउनेगरी वृक्षारोपणमा सहयोग गर्दै आएको कार्यालय प्रमुख राजु क्षेत्रीले बताउनुभयो । ‘खेर गइरहेको मौवाको फूललाई आयआर्जनसँग जोड्न सकिन्छ’– उहाँले भन्नुभयो– ‘वन पनि संरक्षण हुने त्यसले समुदायको जीवनस्तर बदल्न समेत मद्दत गर्दछ ।’ लुम्बिनी प्रदेशभित्र स्थानीय उत्पादनलाई ब्राण्डिङ र बजारीकरणको काम शुरु भएको छ । मौवाबाट बनेको वाइनदेखि अल्लोबाट बनेको कपडासम्म उत्पादन गरेर बिक्री वितरण शुरु गरिएको छ । जसबाट समुदायमा आम्दानी बृद्धि हुन थालेको छ । प्रदेश सरकारले स्थानीय उत्पादनका सामग्रीको बजारीकरणको योजना बनाएपछि उत्पादनमा जोडिएकाहरुमा हौसला थपिएको हो ।

प्युठान नौबहिनी गाउँपालिका–६ बहानेमा कोठी हिमाल अल्लो कपडा उद्योग स्थापना गरिएको छ । जुन उद्योगले अल्लोबाट बनेका टोपी, झोलादेखि कोटसम्म उत्पादन गर्दै बिक्री वितरण गर्दै आएको छ । उद्योगले उत्पादन गरेका सामग्री अहिले देश तथा विदेशमा समेत पुग्न थालेको छ । यस खालका उद्योगलाई प्रदेश सरकारले प्राथमिकता दिएर अघि बढाउनुपर्ने सुझाव उद्योग सञ्चालक चित्रकली बुढा मगरको छ । ‘शुरुमा अल्लोेको धागो काट्दा, कपडा बनाएर बिक्री गर्न हिड्दा बौलाई समेत भने, अहिले मैले गाउँकै दिदीबहिनीलाई उद्योगमा जोडेर रोजगार समेत दिन सक्ने अवस्थामा पुगें’– उहाँले भन्नुभयो– ‘हातले कपडा बन्नुपर्ने अवस्थाबाट अब मेसिन औजारको प्रयोगमा जाँदैछौं । सरकारले हामीलाई नयाँ प्रविधिको मेसिन औजार दिएर सहयोग गरेमा राम्रो हुने थियो ।’ अल्लोबाट बनेका कपडाहरु लगाउने उपभोक्ता बढ्दै गएकोमा उद्यमी बुढा मगर खुशी हुनुहुन्छ । ‘यो अल्लोको कपडा कहाँ बिक्री गर्ने होला भन्ने पिर पहिला थियो । अहिले खोजी–खोजी लगाउन आउनेहरु पनि हुनुहुन्छ’– उहाँले भन्नुभयो– ‘सरकारले सहयोग गरेमा उद्योगलाई बढाउने योजना छ । मैले निरन्तर यही पेशा गर्नेछु ।’

लुम्बिनी प्रदेश सरकारले स्थापनाको सातौं वार्षिकोत्सव मनाउँदा राखिएका स्टलमा स्थानीय उत्पादनका सामग्रीलाई प्राथमिकता दिइएको छ । कृषि उपजका सामग्रीदेखि मौवाबाट उत्पादन भएको वाइन, अल्लोबाट बनेको कपडाहरु समेत राखिएका थिए । स्थानीय उत्पादनलाई बजारीकरण गरेर समुदायको विकास गर्न सकिने भएकाले प्रदेश सरकारको प्राथमिकताको योजनाभित्र परेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभयो । ‘हामीसँग जिनाबाङ मोडेल छ । यसलाई विकास गर्न चाहन्छौं । तराईमा उत्पादन हुने सामग्री पहाडमा र पहाडमा उत्पादन हुने सामग्री तराईमा ल्याउनेगरी काम गरिरहेका छौं’– मुख्यमन्त्री चौधरीले भन्नुभयो– ‘समृद्धिको आधार भनेकै आर्थिक विकास हो । स्थानीय उत्पादनलाई प्राथमिकता दिएर काम गर्दैछौं । यहींबाट रोजगारी सिर्जना गर्न सक्छौं ।’ स्थानीय उत्पादन बढाउन जसरी प्रदेश सरकारले प्राथमिकता दिएको छ त्यसैगरी यसको गुणस्तर र बजारीकरणमा ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ ।

तपाईको प्रतिक्रिया