दशरथ घिमिरे

दाङ– ०७९ साल मंसिर ४ गते प्रदेश सभा सदस्यको निर्वाचन भयो। लुम्बिनी प्रदेशमा प्रत्यक्ष ५२ र समानुपातिकबाट ३५ गरी ८७ जना प्रदेश सभा सदस्य चुनिए।
एक बर्ष समय प्रदेश सभाले विताएको छ। यो अवधिमा ३५ वटा बैठक बसे। ५७ घण्टा ३३ मिनेट सदन चल्यो। प्रदेश सभा सदस्यले एक बर्षको समयलाई रिपोर्ट कार्डमार्फत सार्वजनिक गर्ने पहिलो सांसद बनेकी छन् नीमा गिरी।
प्युठान निवासी उनी समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएकी हुन्। उनले एक बर्षे कार्यकाललाई रिपोर्ट कार्ड बनाएर सार्वजनिक गरेकी हुन्। नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सचेतकको जिम्मेवारीमा रहेकी गिरीले पार्टीको घोषणापत्रमा लेखिएबमोजिम जनप्रतिनिधिले आफ्नो कार्य प्रतिवेदन पेश गर्नुपर्नेअन्तर्गत रिपोर्ट कार्ड तयार पारेको जनाएकी छन्।
उनले सदनमा उठाएका बिषय कार्यान्वयनमा गएको समेत जानकारी दिइन्। लुंग्री माडी सिंचाई आयोजना थप कार्यान्वयन अध्ययनका लागी बजेट विनियोजन भएको, प्युठान नगरपालिका– ९ र १० मरन्ठाना बुढदेवी खरिबोट पहिरो नियन्त्रणको लागी तत्काल विपद् व्यवस्थापनको कार्य अधि बढेको सार्थ उक्त पहिरोको कारण ज्यान गुमाएका सविना घर्तीको परिवारलाई आर्थिक राहत उपलब्ध र पहिरो रोकथामको लागि बजेट विनियोजन भएको सार्वजनिक गरिन्।
साथै, उनले प्रदेश योजना बैंक निर्माण प्रक्रिया अघि बढेको, प्रदेशका आवश्यकीय स्थानहरुमा पक्कि पुल, भवन, सिंचाई, उद्यान, बाढी पहिरो नियन्त्रण, महिला नेतृत्व तथा सिप विकास तथा उद्यम, शिक्षण सिकाईका क्षेत्रमा बजेट विनयोजन गर्न पहल गरेको उल्लेख गरेकी छन्।
प्रदेश निजामती सेवा गठन, सञ्चालन र सेवाको शर्त सम्वन्धमा व्यवस्थागर्न बनेको प्रतिवेदन सहितको विधेयक प्रमाणित भएको, जसमा महनिावारी विदा दिने निर्णय, महिलालाई ५० प्रतिशत आरक्षण, अपांगता भएका व्यक्तिलाई तीन प्रतिशत आरक्षण, पिछडिएको क्षेत्र सिमान्तकृत समुदायलाई ४ प्रतिशत आरक्षण, यौनिक तथा लैंगिक अल्पसंख्यकलाई एक प्रतिशत आरक्षण, विश्व विद्यालयबाट गोल्ड मेडलिस्टलाई दुई बर्ष करारमा लिने व्यवस्था समेट्न सफल भएको विवरणमा उल्लेख छ।
उनले सदनमा जनसरोकारका १४ वटा महत्वपूर्ण कुरा उठाएको उल्लेख गरेकी छन्। प्रदेश सभा सदस्य भइरहदा सामाजिक तथा राजनीतिक अभियानको नेतृत्व गरेकी छन्। कारागारमा पुस्तक अभियानअन्तर्गत प्युठान कारागारमा पुस्तकालय निर्माण तथा पुस्तक वितरण गरेको लगायतविवरण समेटेकी छन्।
एक वर्षको ६ लाख २६ हजार ४ सय तलबमध्ये आयकर, संसदीय दललाई लेवी, पार्टी प्रदेश कमिटिलाई गरेको आर्थिक सहयोग, भ्रातृ तथा शुभेक्षुक संस्थाका सचेतनामुलक कार्यक्रममा सहयोग गरेको हरहिसाव समेत सार्वजनिक गरेकी छन्।

तपाईको प्रतिक्रिया