दशरथ घिमिरे

देउखुरी । मीनादेवी पन्थीको होटल व्यवसाय पुरानो भालुबाङ बजारमा छ । हनुमानगढी मन्दिरको छेउमै रहेको व्यवसायलाई चलायमान बनाउन नयाँ मान्छेहरुको आउजाउ चाहिन्छ तर भालुबाङ पुरानो बजारमा सोचेजस्तो चहलपहल अहिले छैन । पुल्चोक झकिझकाउ हुँदा पुरानो बजार सुनसान जस्तै हुन्छ तर अब मीनादेवीलाई पुरानो बजार क्षेत्रमा पनि चहलपहल भित्रिने आशा जागेको छ । त्यो आशा राप्ती नदीमा शुरु गर्न थालिएको जलयात्राले बढाएको छ ।
‘यहाँ पहिला पनि डुंगा चलाउन खोजियो, महोत्सव लागेको बेला तर डुंगा चढ्ने मान्छे भएनन् । अब फेरि लामो यात्राको लागि डुंगा चलाउन थालिएको रहेछ । सधैं चलोस् भन्ने आशा छ’– मीनादेवीले खुशी साट्दै भन्नुभयो– ‘डुंगा चलेपछि नयाँ मान्छे आउने थिए । सुनासन बजारमा चहलपहल भित्रिने थियो ।’ राप्ती नदीको पानीलाई आधार मानेर जलयात्राको सम्भावना देखिएको छ । साउन महिनाबाहेक बाँकी ११ महिना जलयात्राको लागि सुरक्षित र उपयुक्त रहेको सम्भाव्यता अध्ययनमा खटिनुभएका कर्णालाी ¥याफ्टिङ एण्ड एडभेन्चर प्रालिका सञ्चालक देवराज जैशीले बताउनुभयो ।
शुक्रबार र शनिबार दुई दिन राप्ती नदीमा ¥याफ्टिङ् गरिएको छ । ‘१५ किलोमिटर लामो दुरी करिब साढे दुईदेखि तीन घण्टामा पार गर्न सकिन्छ । सुन्दर दृश्यहरु अवलोकन गर्दै जलयात्रा गर्नुको आनन्द बेग्लै छ’–उहाँले भन्नुभयो– ‘हामीले धेरै नदीहरुमा जलयात्रा गरेका छौं । राप्ती नदी पनि अब जलयात्राको लागि सम्भव छ । यसलाई सबै माझ पु¥याउन जरुरी छ ।’ पूर्वमा राप्ती गाउँपालिका वडा नं. १ हनुमानगढी मन्दिरदेखि पश्चिममा सिसहनियाँ–महदेवा दोस्रो लामो पुलसम्मको करिब १५ किलोमिटर क्षेत्रलाई हाल जलयात्राको दुरी कायम गरिएको छ । बर्खामा पानीको सतह बढ्ने र धमिलो हुँदा केही असहज भए पनि बाँकी समय जलयात्राको लागि उपयुक्त रहेको हो । गर्मी समयमा पानीको सतह घट्ने भएकाले नदीलाई एकैधारमा बगाउने व्यवस्था गर्न सके अझ जल यात्रा रमाइलो हुने सुझाव दिइएको छ ।
अब व्यावसायिकरुपमा ¥याफ्टिङ चलाउन सकिने सम्भाव्यता अध्ययनले देखाएको हो । गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले संयुक्त रुपमा जलयात्राको सम्भाव्यता अध्ययन गरेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिनुभयो । ‘राप्ती नदीको पानीलाई पर्यटनसँग जोड्न थालेका हौं । यसका लागि जलयात्रा उपयुक्त देखिएको छ । यसलाई व्यावसायिकरुपमा अघि बढाउन सकिन्छ’– उहाँले भन्नुभयो– ‘स्थानीयस्तरमा उत्पादित सामग्री तथा परिकारहरुको बजारीकरण गर्दै आयआर्जन बढाउन सकिन्छ । यसतर्फ वृहत योजना निर्माण गरेर काम गर्नेछौं ।’ नदी किनारका बस्ती तथा समुदायले यसबाट लाभ लिन सक्नेछन् । आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने र स्थानीय समुदायको जीवनस्तरमा सुधार गर्नेगरी योजना बनाउन थालिएको छ ।
राप्तीको पानीमा आश्रित समुदायलाई होमस्टेमा जोड्ने, ठाउँ–ठाउँमा पर्यटकहरुलाई अडिन र भुल्नको लागि स्टेसन निर्माण गर्ने समेत योजना छ । ‘राप्ती नदीले नदीतटिय क्षेत्रका नागरिकलाई दुःख दियो । डुबान र कटान गरेर धेरैलाई समस्यामा पा¥यो । अब त्यही नदीले स्थानीय समुदायलाई सुख दिनेगरी योजना बनाएका छौं’– गढवा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरीले भन्नुभयो– ‘पर्यटक भिœयाउने र त्यसबाट स्थानीय समुदायको आयआर्जन बढाउन सकिन्छ ।’ राप्ती नदीलाई अभिशापको रुपमा हेरिदै आएको थियो । अब यसलाई बरदानको रुपमा हेर्नेगरी बृहत योजना आवश्यक रहेको, त्यसका लागि संयुक्त प्रयास शुरु भएको गढवा गाउँपालिका–५ का वडाध्यक्ष लेखबहादुर थापाले बताउनुभयो ।
‘राप्तीलाई पर्यापर्यटनसँग जोड्न सम्भाव्यता अध्ययन गरिएको छ’– उहाँले भन्नुभयो– ‘दिगो रुपमा राप्तीको पानीलाई पर्यटनसँग जोड्न सक्यौं भने राम्रो गन्तब्यस्थल बनाउन सकिन्छ ।’ लुम्बिनी प्रदेशको राजधानी स्थल समेत रहेकाले यहाँ प्रदेशभित्रका नागरिकहरुलाई आन्तरिक पर्यटकको रुपमा भिœयाउन सकिने गरी जलयात्रालाई पर्यटनसँग जोड्न सकिने प्रदेशसभा सदस्य इन्द्रजीत थारुले बताउनुभयो । ‘स्थानीय सरकारले मात्रै यसलाई अघि बढाउन गाह्रो पर्न सक्छ । यसका लागि तीनवटै सरकारले यसमा लगानी र कार्यक्रम बनाउन जरुरी छ’–उहाँले भन्नुभयो– ‘पर्यापर्यटनलाई प्राथमिकता दिएर अघि बढ्नुपर्छ ।’
गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले राप्ती नदी प्राकृतिक रुपमा मनोरम क्षेत्र रहेकाले यसलाई पर्यटकसँग जोड्न जलयात्रा उत्तम विकल्प हुने बताउनुभयो । ‘नदीमा आश्रित समुदायको आयआर्जन बढाउन पनि सकिन्छ । पर्यटकहरुलाई धेरै बेर अड्याउन पनि सकिन्छ’– उहाँले भन्नुभयो– ‘जलयात्रालाई सहज र मनोरञ्जनयुक्त बनाउँदै पर्यटकलाई आकर्षित गर्नेगरी काम गर्ने आधारहरु प्राप्त भएका छन् ।’

तपाईको प्रतिक्रिया