दशरथ घिमिरे

दाङ–स्कुल पढ्दादेखि नै दाङ गढवा गाउँपालिका–१ वडहराका भीम विश्वकर्माको साइनो माटोसँग जोडिसकेको थियो। पूर्वव्यावसायिक शिक्षा पढ्ने बेला उनले स्याउ, केरा, सुन्तला माटोकै बनाए। रमाए पनि। एक दिन उनले बडिविल्डर मान्छे बनाए। त्यो पनि माटोकै। सबै दंग परे। आकर्षक आकृति बनेपछि उनको चर्चा विद्यालयमा चल्यो। सरस्वती पुजाको वेलामा मूर्ति खोज्न कतै जानुपर्दैन्थ्यो। त्यो जिम्मा भीमकै हुन्थ्यो।
उनैले बनाएको मूर्ति पुजिन्थ्यो। बुद्धको मूर्ति बनाउन उनी घुम्न लुम्बिनी पनि गए। बुद्धको मूर्ति कत्रो हुन्छ रु भन्ने ठम्याउन उनी लुम्बिनी पनि पुगे। त्यहाँबाट फर्किएपछि उनले बुद्धको मूर्ति पनि बनाए। माटोको यति धेरै मूर्ति बनाए की त्यसको कुनै लेखाजोखा छैन।

टाढाटाढाबाट माटोको मूर्ति उपहार माग्न आउनेहरु बढे। तर, माटोको मूर्ति टाढासम्म पुर्याउन नसकिने भयो। त्यसपछि उनी सिमेन्टबाट मूर्ति बनाउन थाले।
सुरुमा उनले देवीदेउताको मूर्ति बनाए। अहिले त जीवजनावरको भीमकाय मूर्ति पनि बनाउँछन्। ‘माटो संगको साइने खै कसरी बस्यो बस्यो। यो त नशा जस्तै भयो। छोड्नै नसकिनेगरी’उनले भने,‘गाउँमा मात्रै होइन, म त जिल्ला बाहिर पनि मूर्ति बनाउन पुग्न थालेको छु। प्यूठान पुगे, अर्घाखाँची पुगे, कपिलवस्तु पुगे। अव म पाल्पा जाँदै छु।’

भीमले बनाएका मूर्तिले दाङका पर्यटकीय स्थल सजिएका छन्। लकडाउन हुदा उनको गाउँमा एउटा पार्कमा मूर्ति बनाए। फुर्सदमा बनाएको मूर्ति र आर्कीतीले उनलाई चर्चाको शिखरमा पुर्याएको छ।
कुलपानी हरित पार्कमा उनलेनै बनाएका मूर्ति छन्। पार्कमा बाघ, हात्ती, जयारोलगायत मयूर, खरायो सम्मको आकृति स्थापना गरिएको छ। अहिले लमही नगरपालिका– ५ स्थित जैविक विविधता पार्कमा नेपालको झण्डासहितको आकृति बनाउने काममा खटिएका छन्। भीमले सालिक पनि बनाउन भ्याएका छन्।
एउटा आकृति बनाए वाफत पाँच हजारदेखि ९५ हजार रुपैयाँसम्म बुझेका छन्। हातमा भएको सीपले भीमलाई दैनिक खर्च जुटाउन सहज बनाएको छ। पछिल्लो समय पार्क जीव जनावरदेखि अन्य पूर्वाधार बनाउने चलन बढेको छ। जसले गर्दा मूर्तिकारलाई समेत आम्दानीको राम्रो स्रोत बन्दै गएको छ।

‘दैनिक दुई हजार, पच्चीस सय आम्दानी हुन्छ। यसैमा भविस्य देखेको छु’उनले भने, ‘चेला उत्पादन गर्न खोजेँ। तर, उनीहरुले ध्यानै दिन सकेनन्।’ एउटै कामलाई पूर्ण बनाउने हो भने आम्दानीका लागि धेरै भौंतारिनुपर्दैन। कुनै पनि काम एकाग्र भएर गर्ने हो भने सफलता दिलाउने निश्चित छ।

तपाईको प्रतिक्रिया