लमहीमा मुटु अस्पताल

दशरथ घिमिरे

 

देउखुरी । छाती दुख्यो । खप्न असजिलो भयो । स्थानीय अस्पतालमा जाँच गराउँदा मुटुमा समस्या देखियो । जिल्लामा मुटुरोग विशेषज्ञ र उपचार गर्ने अस्पताल छैन । त्यही भएर जिल्ला बाहिर उपचारको लागि जानुपर्ने अवस्था छ । बुटवलमा पनि समस्या निदान भएन भने काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता छ त्यही भएर मुटुको उपचारका लागि अस्पताल निर्माण गर्न लमहीमा महत्वकांक्षी योजनालाई अघि बढाउन पहल शुरु भएको छ ।

मिर्गौलाको डायलाइसिस शुरु भएपछि दाङ मात्रै होइन छिमेकी जिल्ला र अन्य प्रदेशका बासिन्दाले सेवा लिन पाएको अवस्थामा अब लमहीमा मुटु अस्पताल निर्माणको पहल शुरु भएको हो । रोटरी क्लव अफ लमहीले मुटु अस्पताल निर्माणका लागि सरोकारवाला निकायसँग पहल थालेको हो । ‘सामान्य छाती दुख्यो भने उपचारको लागि बाहिर जानुपर्ने अवस्था छ । हामीले लमहीमै मुटु अस्पताल निर्माणको योजना बनाएका छौं । ड्रिम प्रोजेक्टको रुपमा मुटु अस्पताल निर्माणलाई अघि बढाएका छौं’– रोटरी क्लव अफ लमहीका अध्यक्ष केशव घिमिरेले भन्नुभयो– ‘जिल्लावासी मात्रै होइन अन्य जिल्ला र प्रदेशका बासिन्दालाई पनि उपचार सेवा प्रदान गर्ने योजना छ ।’ मुटु अस्पताल निर्माणका लागि जग्गाको खोजी शुरु भएको छ ।

लमही नगर विकास समितिसँग जग्गाको लागि माग गरिएको रोटरी क्लव अफ लमहीका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । ‘सरकार, दातृ निकाय, समुदाय सबैको साथ सहयोगबाट मुटु अस्पताल निर्माण गर्न सकिन्छ । यसका लागि जग्गा छनोट भयो भने सहजरुपमा काम अघि बढाउन सकिन्छ । व्यस्त जीवनशैलीले मुटु रोग बढाएको छ । समयमै उपचार गर्न पाउने हो भने जीवन बचाउन सकिन्छ’– अध्यक्ष घिमिरेले भन्नुभयो–‘अहिले तत्कालको लागि डायलाइसिस सेन्टरबाटै एकजना मुटु रोग बिशेषज्ञ, उपकरणसहितको स्वास्थ्यकर्मीले सेवा दिन सकिने र जग्गा प्राप्ति भएपछि अस्पताल निर्माणको योजना अघि बढाइने छ ।’

बुटवलमा गौतमबुद्ध सामुदायिक अस्पतालमा मुटुको उपचार हुने गरेको छ । गौतमबुद्ध सामुदायिक अस्पतालसँग सहकार्य गरेर मुटु उपचारलाई अघि बढाउने योजना रहेको समेत घिमिरेले सुनाउनुभयो ।‘ मुटुको उपचारका लागि कार्डियो डाक्टर चाहियो । भेन्टिलेटर मेसिन छ । अहिले प्रारम्भिक रुपमा जाँच सेवा दिने हो’– उहाँले भन्नुभयो– ‘पछि मुटु अस्पताल निर्माणको लागि सहकार्य गरेर अघि बढ्ने छौं ।’ लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले मुटु अस्पताललगायत विशेषज्ञ सेवाका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो । ‘जनतालाई सेवा दिने कुरामा हामी अघि बढ्छौं ।

घातक रोगहरुको निदानको लागि हामी सहकार्य गर्न तयार छौं’– उहाँले भन्नुभयो– ‘के कसरी अस्पताल बनाउन सकिन्छ । यस बारेमा पनि छलफल गरेर अघि बढ्न तयार छौं ।’

हाल लमहीमा आँखा उपचारको छुट्टै अस्पताल सञ्चालनमा छ । यसका अतिरिक्त नाक, कान, घाँटीको अस्पताल बनाउन पनि पहल जारी छ । नेपाल नेत्रज्योति संघले नाक, कान, घाँटीको अस्पताल निर्माणको पहल थालेको हो भने, रोटरी क्लवले मुटु अस्पताल निर्माणको पहल थालेको हो । विशेषज्ञ सेवाका लागि थालिएका पहल सकारात्मक रहेको र अस्पताल निर्माण गरेर सेवा सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्ने देखिएको छ । लमहीमा हाल आँखा उपचारको लागि छिमेकी जिल्ला र प्रदेशहरुबाट बिरामी आउने गरेका छन् । मिर्गौैलाको डायलाइसिस सेवा पनि प्रभावकारी बनेको छ । यी दुबै सेवाले लमहीमा थप विशेषज्ञ अस्पताल निर्माणको आवश्यकता बढेको जनाउ दिएको छ ।

हर्ट फाउण्डेसन दाङले जिल्लामा मुटु अस्पताल निर्माण आवश्यक रहेको बताएको छ । जिल्लामा २०४७ सालमा हर्ट फाउण्डेसन स्थापना भए पनि सक्रिय थिएन । पछिल्लो पटक हर्ट फाउण्डेसन पनि सक्रिय हुन थालेको छ । ‘मुटु उपचारलाई सबैको पहुँचमा पु¥याउनुपर्छ भन्ने मान्यता हाम्रो छ’– हर्ट फाउण्डेसन दाङका उपाध्यक्ष मोहनकुमार पाण्डेले भन्नुभयो– ‘विद्यालय तहमा शिविर सञ्चालन गरेर जाँच गर्दा मुटु सम्बन्धी स्वास्थ्य समस्या भएका विद्यार्थी फेला परेका छन् । उपचारलाई सबैको पहुँचमा पु¥याउन अस्पताल आवश्यक पर्छ ।’

तपाईको प्रतिक्रिया