देउखुरी, । राप्ती गाउँपालिका वडा नं. १ पाखापानी निवासी करण श्रेष्ठ कक्षा १२ मा पढ्नुहुन्छ । गोरखा मोडल सेकेन्डरी स्कुल लमहीमा अध्ययनरत श्रेष्ठले पहिलो पटक रक्तदान गर्नुभयो । यो भन्दा पहिला उहाँले रक्तदानको अवसर पाउनुभएको थिएन । विद्यालयमा अध्ययन गर्ने क्रममा पहिलो अवसर थियो रक्तदान । ‘रक्तदान गर्ने मन थियो । एउटा उमेरले रोकेको थियो, अर्काे अवसर पाएको थिएन’– उहाँले भन्नुभयो– ‘पहिलो पटक रक्तदान गर्ने अवसर मिल्यो । अब यसलाई निरन्तरता दिन्छु ।’

श्रेष्ठलाई मात्रै होइन, मानव चौधरीको पनि पहिलो थियो, रक्तदान । मृत्युको मुखमा पुगेकाहरुलाई रगत दान दिएर बचाउने महान कार्यमा जोडिएकोमा खुशी हुनुहुन्छ मानव । ‘रगत दान दिएरै संकलन हुने हो, यसको न उद्योग हुन्छ । न यसलाई बनाउन सकिन्छ’– उहाँले भन्नुभयो– ‘व्यवहारिकरुपमा रक्तदान गर्न पाउँदा खुशी छु । यो अभियानमा म मात्रै होइन, सबै विद्यार्थी जोडिन आवश्यक छ ।’
दाङ जिल्लामा रगतको अभाव हुन नदिन स्कुले विद्यार्थीलाई रक्तदानमा जोड्ने अभियान चलेको छ । उमेर पुगेका विद्यार्थीहरुलाई रक्तदान अभियानमा जोड्न थालिएको हो । शुक्रबार लमहीमा रोटरी क्लव अफ लमहीले बहृत रक्तदान कार्यक्रम गरेर विद्यार्थीलाई जोडेको छ । ‘रक्तदानको बारेमा पनि गलत हल्लाहरु, भ्रमहरु छर्ने काम हुने गर्छ । रगत दान दिदा स्वास्थ्य खराब हुन्छ, दिनुहुँदैन भनेर भ्रम पार्ने कुराहरुलाई चिर्दै यो अभियानमा विद्यार्थीलाई सहभागी गराउन खोजिएको छ’– रोटरी क्लव अफ लमहीका अध्यक्ष केशव घिमिरेले भन्नुभयो– ‘यसरी नयाँ रक्तदाता पनि थपिने र लुप्त रहेका व्लड ग्रुपका दाताहरु पनि भेटिने अवसर पनि हो ।’
लमही क्षेत्रमा रहेका विद्यालयका विद्यार्थीहरु रक्तदानमा जोडिएका हुन् । गोरखा मोडल सेकेण्डरी स्कुल कक्षा १२ मा पढ्ने विद्यार्थीले रक्तदान गर्दै आएका छन् । यो कार्यमा विद्यालयले सहजीकरण गरेको छ ।
‘विद्यालयबाटै विद्यार्थीलाई रक्तदानप्रति अभिप्रेरित गर्ने गरेका छौं । जसले गर्दा विद्यार्थीहरु रक्तदान गर्न तयार भएका छन्’– गोरखा मोडल सेकेन्डरी स्कुल लमहीका प्राचार्य तथा रोटरी क्लव अफ लमहीका सचिव लोकमान रिजालले भन्नुभयो– ‘रक्तदान अभियानले विद्यार्थीमा नयाँ उत्साह थपेको छ ।’ रगतको अभाव हटाउन नियमित रक्तदान गर्ने दाताको संख्या बढाउन आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र लमहीका प्रमुख मनिषा चन्दले बताउनुभयो । ‘रगतको माग बढ्दो छ । जसले गर्दा रक्तदाताको संख्या बढाउन आवश्यक छ’– उहाँले भन्नुभयो– ‘लमही अस्पताल र डायलाइसिस सेन्टरमा रगत खपत हँुदै आएको छ ।’ थालासेमिया र एनिमिया र रक्तअल्पताका बिरामीको लागि रगत चढाउने गरिएको छ । गत वर्ष लमही रक्तसञ्चार केन्द्रले आठ सय ५५ जनाबाट रगत दानमा प्राप्त गरेको थियो । जसमा सात सय ३९ पुरुष, एक सय १६ महिला रहेका छन् ।
सो अवसरमा रोटरी क्लव अफ लमहीले बृहत रक्तदान कार्यक्रम गरेको छ । रगतको अभाव कम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम संयोजक प्रमोद गौतमको अध्यक्षता तथा लमही नगरपालिका वडा नं. ५ का अध्यक्ष ओमप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नयाँ र पुराना गरी ६० जनाले रक्तदान गरेका छन् ।

तपाईको प्रतिक्रिया