जथाभावी उत्खनन्ले राप्ती नदिको सिंचाई प्रणाली जोखिममा

 

 

दशरथ घिमिरे

देउखुरी । कुनै समय राप्ती नदीमा पानी कलकल बग्थ्यो । परैसम्म नदी बगेको आवाज सुनिन्थ्यिो । माछा र जलचर जीवको बासस्थान राम्रो थियो । नदी तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीयले माछा मारेरै जीविका चलाउँथे तर अचेल राप्तीमा पानी वगेको नभई डोजर, टिप्पर चलेको आवाज मात्रै सुनिन्छ ।

देउखुरीका चारवटा स्थानीय तहसँगै छिमेकी जिल्ला अर्घाखाँचीको शीतगंगा नगरपालिकाले पनि राप्ती नदीकै ढुंगागिट्टीमा आँखा गाडेपछि जथाभावी उत्खनन् बढेको छ । दैनिक दर्जन स्क्याभेटरले उत्खनन् गर्ने र दर्जनौं ट्याक्टर, टिप्परले नदीजन्य पदार्थ ओसारपसार गरिरहेका छन् । अप्राकृतिकरुपमा भइरहेको उत्खनन्ले जस्तोसुकै जोखिम समेत नित्याउन सक्ने विज्ञहरुको भनाइ छ । नदीजन्य पदार्थको उत्खनन्मा ठेकेदार बलिया देखिएका छन् । जनप्रतिनिधि निरीह जस्तै बनेका छन् । जथाभावी भइरहेको उत्खनन् टुलुटुलु हेरेर बस्नु बाहेक अरु विकल्प छैन । नदीजन्य पदार्थको उत्खनन्का कारण राप्ती नदीमा आश्रित सिंचाई आयोजना समेत जोखिममा छन् ।

बड्कापथ सिंचाई आयोजनाको पाँच हजार आठ सय हेक्टर जमिन राप्तीकै पानीले सिंचित हुने गरेको छ । नदीमा भइरहेको अप्राकृतिक उत्खनन्ले नदीको सतह गहिरिन पुगेको छ । राजश्व उठाउने नाममा प्राकृतिक स्रोत साधनको दोहन गर्न स्थानीय सरकारले नै अनुमति दिने गरेका छन् । राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाले आन्तरिक राजश्व संकलनको प्रमुख स्रोत नदीजन्य पदार्थलाई केन्द्रित गरेकै कारण केही वर्षयता राप्ती नदी जोखिममा परेको हो ।

‘पहिला पानी इन्टेकमा सहजै चढ्थ्यो । नदीमा प्रशस्त पानी हुन्थ्यो । अचेल नदीमा धुलो उड्छ’– स्थानीय किसान रामकृष्ण चौधरीले भन्नुभयो– ‘मेसिनले उत्खनन् गर्दा नदीको पानी पनि भाग्न थाल्यो ।’ हरेक वर्ष सिंचाईको लागि पानीको दुःख बढ्दै गएको छ । कुलो खन्ने नाममा नदीजन्य पदार्थकै उत्खनन् गरिएको छ भने अन्य पालिकाले पनि नदीलाई नै दोहनको केन्द्र बनाएपछि समस्या बल्झिदै गएको हो । ‘दोहनले गर्दा राप्ती पुल नै जोखिममा छ । नदीको सतह गहिरियो, पुल नदीको दुरी बढ्यो’– स्थानीय डिल्ली सुवेदीले भन्नुभयो– ‘सिंचाई र तटबन्धमा प्रत्यक्ष असर परेको छ तर स्थानीय सरकार बिचौलियाको प्रभावमा पर्दा दोहन बढ्यो ।’

नदीलाई प्राकृतिकरुपमै बग्न दिनुपर्ने सुझाव संरक्षणकर्मीहरुको छ । पानीविज्ञ भास्कर चौधरीले नदीलाई प्राकृतिक वहावमै बग्न दिनुपर्ने, यसो नगर्दा विपत निम्तन सक्ने बताउनुभयो । ‘नदीसँग अप्राकृतिक व्यवहार ग¥यौं भने त्यसले पनि आफ्नो अप्राकृतिक रुप देखाउँछ’– उहाँले भन्नुभयो– ‘जथाभावी उत्खनन्ले नदीको प्राकृतिक पनमा ह्रास ल्याउँछ । नदीले धार परिवर्तन ग¥यो भने विपतलाई निम्तो दिएको मानिन्छ ।’ जथाभावी उत्खनन्का कारण नदीक्षेत्रमा बनेका संरचना झोलुगेंपुल, पक्की पुल, तटबन्ध, सिंचाई आयोजनालाई प्रत्यक्ष असर पार्ने देखिएको छ ।

जोखिममा सिंचाई आयोजना

बड्कापथ सिंचाई आयोजना राप्ती नदीको बायाँ किनारमा छ । गढवा गाउँपालिकाभित्र पर्ने साविकका तीनवटा गाविसमा पर्ने चार हजार हेक्टर जमिन सिंचाई गर्ने लक्ष्य छ तर अहिले यो आयोजना निर्माणाधीन छ । वर्षेनि राप्ती नदीमा दोहन भइरहने हो भने यो आयोजनालाई पानी अपुग हुने जोखिम देखिन्छ । वर्षामा सिंचाई गर्न स्थानीय खोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ । हिउँदमा खोलाको पानी नपुग्दा किसानले आफ्नो जमिनमा सिंचाई गर्न वर्षाको पानीमा भर पर्नु पर्ने बाध्यता छ । बाढीको समयमा नहरहरूमा पानी जम्मा गर्ने उपाय छैन । यस्तै राप्तीको पानीमा आश्रित छ प्रगन्ना कुलो सिंचाई आयोजना । पाँच हजार आठ सय हेक्टर जमिनमा सिंचाई पु¥याउँदै आएको छ । नदीको सतह गरिदै जाँदा पानी अपुग हुने समस्या बढ्न थालेको छ । ‘पानीकै दुःख हो । नदीमा पानी राम्रोसँग बग्ने भएको भए कुनै दुःख हुने थिएन’– प्रगन्ना जलउपभोक्ता मूल समन्वय समितिका अध्यक्ष टंकनाथ चौधरीले भन्नुभयो– ‘नदीबाट कुलो खनेर पानी डो¥याउनुपर्ने बाध्यता छ । किसानको दुःख कसैले देख्दैनन् । राप्तीमा उत्खनन् गर्नुहँुदैन भनेर हामी बोलिरहेका छौं ।’

नदीजन्य पदार्थले बढाएको सीमा विवाद

सामान्य अवस्थामा स्थानीय तह बीच सीमा विवाद भएको कमै सुनिएको छ । दाङमा स्थानीय तहबीच नदीजन्य पदार्थ उत्खनन्को बिषयलाई लिएर पटक–पटक सीमा विवाद हुने गरेको छ । यो समस्या सुल्झिएको छैन् । स्थानीय तहबीच सीमा विवाद हुँदा नदीजन्य पदार्थको भइरहेको उत्खनन् नियन्त्रणमा आउन सकेको छैन । तीन वटा स्थानीय तहवीच सीमा विवाद हुँदा नदीजन्य पदार्थको ठेक्का लगाउन र उत्खनन् गर्दा उत्पन्न भएको विवाद समेत मिल्न नसकेको हो । राप्ती नदीमा अर्घाखाँचीको शीतगंगा नगरपालिका, दाङको गढवा गाउँपालिका र राप्ती गाउँपालिकाको सीमा पर्ने भएपछि समस्या परेको छ । अहिले नदीजन्य पदार्थको जथाभावी उत्खनन् हुँदा पनि नियमन गर्ने निकाय मौन बसेका छन् ।

अर्घाखँँचीको सीमा क्षेत्र भएकाले नियमन गर्न नसकिएको प्रतिक्रिया दाङको सुरक्षा प्रशासनले दिने गरेको छ । तर नदीजन्य पदार्थ उत्खनन् कार्यमा सबै निकायको मिलोमतो हँुदा नियमन गर्न समस्या परेको बताइएको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले सीमा विवाद नसुल्झिदासम्म अर्घाखाँचीको शीतगंगा नगरपालिकाबाट हुँदै आएको उत्खनन् कार्य रोक्न माग गर्नुभयो । ‘सीमा विवाद छ । तर एकतर्फी रुपमा दाबी गरेर जथाभावी उत्खनन् भइरहेको छ’– उहाँले भन्नुभयो–‘प्रहरी प्रशासन गुहार्दा पनि कसैले सुनेनन् ।’ नदीजन्य पदार्थको उत्खनन् र व्यवस्थापनको विषयलाई लिएर छिमेकी जिल्ला अर्घाखाँचीको शीतगंगा नगरपालिकासहित जिल्लाका चारवटा पालिकाबीच सीमा विवाद हुने गरेको छ ।

‘नदीजन्य पदार्थको व्यवस्थापन र राजश्व संकलनलाई सबै पालिका बसेर एकीकृत योजना बनाउन आवश्यक छ’– गढवा गाउँपालिकाका अध्यक्ष पोख्रेलले भन्नुभयो– ‘संयुक्तरुपमा साझेदारी गरेर नजाने हो भने अवैध उत्खनन् पनि नियन्त्रण गर्न गाह्रो पर्छ ।’

तपाईको प्रतिक्रिया