गिद्धको पर्खाइमा समुदायको सकृयता, राप्ती गाउँपालिकाको साथ

 

 

 

देउखुरी । गिद्ध संरक्षण अभियान सुरु हुदा धेरैले गिद्ध पनि संरक्षण गर्ने भनेर उल्टै उडाए । तर, ति उडाउनेहरु पनि अहिले संरक्षण अभियानमा संलग्न छन् । दाङमा राप्ती गाउँपालिका वडा नं. २ लामटीयामा २०६५ सालबाट सुरु भएको गिद्ध संरक्षण अभियान अहिले पनि निरन्तर चलिरहेको छ । गिद्धको बासस्थान नासिदै जाँदा र आहाराको अभाव हुदा गिद्ध लोप हुन थालेको अवस्थामा यहाँ संरक्षण थालिएको थियो । पशु बृद्धाश्रम तथा जटायु रेष्टुरेन्ट नाम दिएर संरक्षण अभियान अघि बढेको थियो । पशु बृद्धाश्रममा ७० वटा गाई गोरु रहेका छन् । तिनीहरुको मृत्यु भएमा गिद्धको आहारका रुपमा प्रयोग गरिदै आएको छ । जसको संरक्षण कालिका सामुदायिक वन उपभोक्ता समितिले गर्दै आएको छ । बुधवार गिद्धको आहारा स्थलमा सरसफाई पनि गरिएको छ ।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको सकृयातामा गिद्ध संरक्षण क्षेत्रमा सरसफाइ गरिएको हो । उक्त क्षेत्रमा सिमलका रुखहरु रहेका छन् । जहाँ गिद्धलाई आहारा दिइदै आइएको छ । गिद्धलाई आहार दिने स्थानमा झाडी भएको र उक्त झाडीका कारण गिद्धलाई भुइमा बस्न समस्या हुदै आएको थियो ।‘वातावरणलाई सन्तुलन राख्न गिद्ध चाहिन्छ । यसका लागी गिद्धको बासस्थानको संरक्षण र आहारा स्थलको सरसफाई गरेका हौं’अध्यक्ष बिष्टले भन्नुभयो,‘प्रकृतिको कुचिकार गिद्ध लोप हुदै जाँदा वातावरणमा समेत असन्तुलन हुन सक्छ । त्यसैले गिद्धलाई संरक्षण गर्ने अभियानमा निरन्तर लागीरहनु पर्ने छ ।’ गिद्ध संरक्षण केन्द्रलाई प्रदेशको अध्ययन अवलोकन केन्द्रको रुपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो । प्रदेश सभामुख तुलाराम घर्तीले पशु पालन घट्दै जाँदा गिद्धको आहारामा पनि कमि आएकाले लोप हुन थालेको बताउनु भयो ।‘सुरुका दिनमा गिद्ध संरक्षण गर्ने कुरा ठिक होइन जस्तो आम बुझाई थियो । तर, पछी बैज्ञानिक अध्ययन अनुसन्धानले गिद्धलाई प्रकृतिको कुचिकारको रुपमा पुष्टी गरेपछी यस तर्फ समुदायको पनि चासो बढ्यो’सभामुख घर्तीले भन्नुभयो,‘अव त गिद्ध संरक्षण अभियानलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रको चासो रहन गएको छ ।’ कालिका सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारी सहित उपभोक्ताहरुको समुहले सरसफाई गरेको हो ।

विश्वमा २३ प्रजातीका गिद्ध रहेका छन् । नेपालमा हाडफोर, सेतो, डंगर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी ९ प्रजातिका गिद्ध पाइन्छ । ती गिद्धहरूमध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र लामो ठुँडे गिद्ध अति सङ्कटापन्न; सेतो गिद्ध सङ्कटापन्न, हिमाली र हाडफोर गिद्ध सङ्कटको नजिक र खैरो गिद्ध सामान्य अवस्थामा छन् । हाल पशु बृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रमा नेपालमा पाइने सबै प्रजातिका अर्थात ९ प्रजातिका गिद्ध पाइएका छन् । गिद्ध धेरैजसो अग्लो, ठूलो सिमलको रुखमा बस्न रुचाउँछ । तर राप्तीका सडक किनाराका रुख कटानसँगै सिमलका रुखपनि कटान हुदा कतै गिद्धको बासस्थानमा असर पर्ने हो की भन्ने चिन्ता बढेको छ ।

गिद्धलाई प्राकृतिक कुचिकारको रुपमा हेरिन्छ । सिनो खाई हाम्रो वातावरण प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिएको हो । तर पछिल्लो समयको यसको बासस्थानका कारण लोप हुने अबस्थामा पुगेको छ । वातावरण प्रदूषण, दुर्गन्ध र रोग मुक्त बनाउन गिद्धको भूमिका अहम् छ । गिद्धको अनुपस्थितिमा सिनो वातावरणमा यत्रतत्र छरिएर रहने भएकोले परिणामस्वरुप मानिसमा झाडापखाला, हैजा, आउँ र पशु चौपायहरूमा एन्थ्रेक्स्, बरुसेलोसिस् र क्षयरोग जस्ता विभिन्न रोगहरूको संक्रमणले महामारीको रूप लिन सक्ने जोखिम छ ।

तपाईको प्रतिक्रिया