बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका सांसद (प्रतिनिधि सभा सदस्य) अरुण चौधरी जेल चलान भएका छन्। सार्वजनिक सम्पत्ति (ट्र्याक्टर)मा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएका उनले शुक्रबार अदालतबाट पूर्जी बुझेर जेल चलान भएको जिल्ला कारागार कैलालीका निमित्त श्रेष्तेदार राजेन्द्र जोशीले जानकारी दिए।

बिहीबार बाँकेबाट विमानमार्फत् काठमाडौं ल्याएर चौधरीलाई काठमाडौंबाट विमानमार्फत् नै धनगढी पुर्याइएको थियो। बिहीबार चौधरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा बसेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीले चौधरीलाई शुक्रबार बिहान कैलाली जिल्ला अदालतमा उपस्थित गराएको थियो।
कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए। उनी लगायत ३ जनालाई कैलाली जिल्ला अदालतले बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो।
स्थानीय महादेव बजगाईंको ट्र्याक्टरमा आगो लगाएको कसूरमा उनीलगायत ३ जना दोषी पाइएको जिल्ला अदालत कैलालीले ठहर गरेको छ। उक्त घटनामा सांसद अरुणका साथै पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई समेत अदालतले दोषी ठहर गरेको थियो। उनीहरूले ट्र्याक्टर चालक साजन चौधरीलाई कुटपिट गरेर पेट्रोल छर्केर आगो लगाएका थिए।
उक्त विषयमा जाहेरी परेपछि उनीहरू तीनैजना बयान दिन समेत अदालत नआएर फरार भएका थिए। तीनै जना प्रतिवादीहरूका नाममा अदालतमा हाजिर हुन म्याद जारी भए पनि हाजिर नभएर कसूर स्वीकार गरेको अदालतले जनाएको छ।
२०६६ साल भदौ ३ गते कैलालीको चिसापानीस्थित गोरङ्गा खोलाबाट ढुंगा लिएर लम्की फर्किने क्रममा उनीहरूले ट्र्याक्टरमा आगजनी गरेका थिए। -नेपाल लाइभ

तपाईको प्रतिक्रिया