राप्ती प्रेस मञ्चको दोस्रो वार्षिक साधारणसभा  सम्पन्न

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सञ्चार माध्यमलाई कमजोर पार्ने खालका सरकारी कदमहरू तत्काल सच्याउन आग्रह गर्दै प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेप लोकतन्त्रका लागि घातक हुने बताउनुभएको छ। उहाँले पछिल्लो समय राज्यको नीति र प्रविधिको तीव्र विकाससँगै पत्रकारिता क्षेत्र अनेक चुनौतीको सामना गरिरहेको उल्लेख गर्नुभयो।

 

राप्ती गाउँपालिका–५ कालापानी स्थित धार्मिक तथा पर्यटकीय स्थल खैराहामा आयोजित राप्ती प्रेस मञ्चको दोस्रो वार्षिक साधारणसभा तथा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष सुवेदीले सरकारका केही निर्णयहरूले स्वतन्त्र पत्रकारिता माथि प्रत्यक्ष असर परेको आरोप लगाउनुभयो। उहाँले विशेषगरी निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन वितरणमा गरिएको कटौतीप्रति असन्तुष्टि व्यक्त गर्दै यसले नागरिकलाई समयमै सूचना प्राप्त गर्ने अधिकारबाट वञ्चित गराउने खतरा बढेको बताउनुभयो।

“लोकतान्त्रिक मूल्य, मान्यता र अभ्यासलाई कमजोर बनाउने कुनै पनि कार्य स्वीकार्य हुँदैन,” उहाँले भन्नुभयो, “सञ्चार माध्यमलाई कमजोर पार्ने खालका निर्णयहरू तत्काल फिर्ता लिनुपर्छ।” उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसलाई जोगाउन सबै पक्ष एकजुट हुनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारका हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए। उनीहरूले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि स्वतन्त्र र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताउँदै यसलाई कमजोर पार्ने प्रयासको सशक्त प्रतिवाद गर्नुपर्नेमा जोड दिएका थिए।

राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष अधिकारीले मञ्चले विगतदेखि नै पत्रकारहरूको हकहित र पेशागत सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि मञ्चले पत्रकारिता क्षेत्रको सुदृढीकरण र क्षमता अभिवृद्धिमा निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीले स्थानीय तहले सञ्चार माध्यमसँग सहकार्य गर्दै जनताको सूचनाको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो। नागरिक समाज दाङका संयोजक निमबहादुर थापाले लोकतन्त्रको संरक्षणमा सञ्चार क्षेत्रको भूमिका अतुलनीय रहेको भन्दै पत्रकारहरूको सुरक्षा र स्वतन्त्रता सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्ने धारणा राख्नुभयो।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख पुष्करसिंह ऐरीले शान्ति सुरक्षा कायम गर्न सञ्चार माध्यमसँग सहकार्य आवश्यक रहेको बताउनुभयो भने नागरिक समाज देउखुरीका पूर्व संयोजक दामोदर भण्डारीले सूचना प्रवाहलाई प्रभावकारी बनाउन सञ्चार माध्यमलाई सशक्त बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी मञ्चका प्रमुख संरक्षक महेश रिजाल, सल्लाहकारहरू दशरथ घिमिरे र बासुदेव न्यौपाने लगायतका वक्ताहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका थिए। मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया