

महानता ३ (तीन) किसिमले प्राप्त गरेको देखिन्छ । पहिलो ईश्वरीय कृपाबाट प्राप्त हुने महानता । दोश्रो भाग्यले जुराईदिने वा लादिएको महानता । तेश्रो सत्कर्म गरेर, कडा मेहनत, परिश्रम र त्याग गरेर प्राप्त गरेको महानता । हो, यी ३ (तीन) महानता मध्ये तेश्रो महानता प्राप्त गर्ने व्यक्ति हुन् डा. सन्दुक रुइत, नेपाल आमाका सच्चा सपूत ।
डा. सन्दुक रुइतको जन्म सन् १९५५ मा ताप्लेजुङ जिल्लाको तमोरखोलाको शीरमा रहेको ओलाङचुङगोलामा भएको थियो । उनी ओलाङचुङगोलामा हुर्किए, जहाँ पुग्न अहिले पनि जिल्ला सदरमुकामबाट चार दिन लाग्छ । उनका बुवा सोनाम, नेपाल–तिब्बतबीच नुन, चामल, घोडा च्याङ्ग्रा व्यापार गर्दथे । बुवाका ६ सन्तानमध्ये तीन छोराछोरी कलिलैमा बिते । डाक्टर बन्ने सपना भएका उनी जन्मथलो ताप्लेजुङको ओलाङचुङगोलाबाट १५ दिन हिँडेर दार्जिलिङ अध्ययन गर्न पुगे । दार्जिलिङको मिसनरी स्कुल सेन्ट रोन्टर्समा भर्ना भए । सन् १९६२ मा चीन–भारतबीच सीमायुद्ध भयो । युद्धकालीन अवस्थामा दार्जिलिङका स्कुलहरु बन्द भए ।
उनलाई उनका बुवाले काठमाडौँ ल्याउनुभयो र सिद्धार्थ बनस्थली स्कुलमा भर्ना गरिदिनुभयो । उनी सन् १९७० मा सिद्धार्थ बनस्थली स्कुलबाट पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण भए ।
एसएलसी उत्तीर्ण गरेपश्चात उनी काठमाडौँस्थित त्रिचन्द्र क्याम्पसमा आईएस्सी पढे । आईएस्सी उत्तीर्ण गरेपछि छात्रवृत्ति कोटामा एमबीबीएस पढ्न भारतको लखनऊस्थित किङ जर्ज मेडिकल कलेज पुगे । एमबीबीएस उत्तीर्ण गरेपछि नेपाल फर्किएर बीर अस्पतालमा ‘जनरल फिजिशियन’ का रुपमा तीन वर्ष बिताए । फेरी अवसर जुर्यो र भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साईन्स (एम्र्स) मा एमडी अध्ययन गर्न थाले । तीन वर्ष पढेपछि सन् १९८४ मा नेपाल फर्किए र त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा जागीर खान थाले । आठ वर्ष त्रिपुरेश्वर आँखा अस्पतालमा काम गरेपछि सन् १९८७ मा एकवर्षे अध्ययन गर्न उनी अष्ट्रेलिया गए । अष्ट्रेलिया रहेकै बेलामा उनलाई अमेरिका–युरोप–अष्ट्रेलियाबाट पनि कामका लागि प्रस्ताव आयो । उनले ती प्रस्तावलाई स्वीकारेनन् र नेपाल फर्किए ।
धैर्य, साहस, दृढ ईच्छाशक्ति र संघर्षले नै मानिस जीवनमा सफल हुन सक्छ भन्ने उदाहरण डा. रुइतले प्रमाणित गरेका छन् । रुइतेक्टोमी डा. सन्दुक रुइतले धेरै खोज अनुसन्धानबाट पत्ता लगाएको आँखाको उपचारसम्बन्धी विशेष प्रविधि हो । यो प्रविधि चिकित्सा पद्धतिका क्षेत्रमा अहिले नेपाली प्रविधिको रुपमा विश्वभर चर्चित छ । यसका सुरुवातकर्ता डा. रुइत हुन् । सरल र कम लागतमा मोतीविन्दुको गरिने यस उपचारपद्धतिलाई विश्वभर फैलाउन डा. रुइतको ऐतिहासिक र महत्वपूर्ण योगदान रहेको छ । डा. रुइतले लामो समयको खोज अनुसन्धानपछि ‘इन्ट्राकुलर लेन्स’ बिरामीको आँखामा लगाईन्छ र बिरामीहरु आफ्नै आँखाबाट संसार देख्न सक्षम हुन्छन् ।
हाल तिलगंगा आँखा अस्पतालमा निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञका रुपमा कार्यरत डा. रुइतले हालसम्म १ लाख ८० हजार व्यक्तिको आँखाको ज्योति फर्काई सकेका छन् । मानवता सेवामा समर्पित डा. रुइतले नेपालका राष्ट्रपतिद्वारा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, भारत सरकारद्वारा पद्मश्री पुरस्कार, रमन म्यागासेसे पुरस्कार र हालसालै १३ करोड राशीको इसा अवार्ड प्राप्त गर्दैछन् । एक संघर्षशील र भावुक प्रकृतिका व्यक्ति जसले राष्ट्रपति पद मेरालागि होईन र मैले आँखाको क्षेत्रमा अझ धेरै गर्नुछ भनि ओजिलो अभिव्यक्ति दिने नेपालीका प्रेरणाका श्रोत नेपाल आमाका सच्चा सपूत न्यम या क्ष्नजत डा. रुइत प्रति उच्च सम्मान छ ।

तपाईको प्रतिक्रिया