
पूजा खड्का
एस.एल.सी उर्तिण गरेको एक दशकपछि प्लस टु मा भर्ना हुने अवसर जुर्यो । यति धेरै वर्ष क्रम भंगता हुनुका कारण मेरो विवाह १० (दश) कक्षा पढ्दा पढ्दै भएको थियो । विवाह पश्चात छोरीको जन्म भयो । घर परिवार र बच्चालाई समय दिँदा कतिबेला एक दशक गुज्रिएछ पत्तै भएन । केहि जान्ने, सिक्ने उत्सुकता र हुट्हुटीका कारण घर परिवारको सहयोगले अध्ययनलाई निरन्तरता दिने मौका मिल्यो ।
नेपाली विषयमा प्लस टु २ वर्षमा नै उर्तिण हुन सफल भएँ । पढाईलाई निरन्तरता दिने क्रम अझै रोकिएन । वि.एड. (नेपाली) मा समेत भर्ना भएर पढ्दै गर्दा बखत आफ्नै गाउँ लमही नगरपालिका वडा नं ६, खैरी, दाङमा एउटा विद्यालय खोल्ने सोँच पलायो । घर परिवारको सहयोगले फ्यूचर स्टार बोर्डिङ स्कूल नामक विद्यालय खोल्ने अवसर जुर्यो । जुन विद्यालयमा नर्सरी देखि कक्षा तीनसम्म पढाइ सञ्चालन हुनपुग्यो । म त्यस विद्यालयको प्रिन्सिपल र शिक्षण गरेर करिब सात आठ वर्ष बिताए । लमहीमा बढ्दै गएको शहरीकरण, विद्यालयहरुका ठूला नाम र स्कूल भ्यानका सहज उपलब्धता कारण, यस क्षेत्रका अभिभावकहरुको आकर्षण तिनै शहरी क्षेत्रका विद्यालयहरूमा केन्द्रित हुन पुग्यो । फलस्वरूप विद्यालय सञ्चालनमा कठिनाई हुन थालेपछि विद्यालय बिक्री गर्ने निर्णयमा पुग्यौँ । विद्यालय बिक्री गरेपश्चात करिब दुई तिन वर्ष म गृहिणी भएर घरमा नै समय दिन थाले तर म मा सिक्ने र सिकाउने हुट्हुटी छँदै थियो । यस क्षेत्रको स्थापित घरपरिवारको छोरी बुहारी भएको कारण कुनैपनि रोजगारीमा लाग्ने अवसर थियो नै तर मेरो शिक्षण पेशा प्रतिको आकर्षणले गर्दा अन्य पेशा अंगाल्ने कुरा सम्भव नै थिएन । घरमा सबै आवश्यकता परिपूर्ति हुँदा समेत के नपुगेको, के नभएको जस्तो महशुस हुन्थ्यो ।
एक दिन एकजना आफन्तबाट थाहा पाए । २०७५ सालमा गोरखा मोडेल सेकेन्डरी स्कूल, लमही–६, दाङलाई शिक्षक आवश्यकता छ भनेर । मलाई लाग्यो यहि हो अवसर आफूलाई पुनः परिक्षण गराउने । भोलिपल्ट गोरखा स्कूल जाने निधो गरेँ र गइपनि हालेँ । स्कूलमा प्रिन्सिपलसँग आफ्ना कुरा राखेँ । स्कूलको नियम अनुसारको प्रक्रियामा सामेल भई प्रि–प्राइमेरी लेवलको विषय शिक्षिकाको रूपमा छनौट हुन सफल भएँ । क्रम भङ्गतालाई निरन्तरता दिन पाएकोमा म औधी खुशी थिए । आफ्नो लगन, मेहनत र विद्यालयकी प्रि– प्राइमेरी कोर्डिनेटर आदरणीय शिला रिजाल म्याम र अग्रज शिक्षक शिक्षिकाको सामिप्यतामा रहि धेरै नयाँ कुरा सिक्ने अवसर प्राप्त भयो ।
विद्यालयको पढाउने तरिका अन्य विद्यालय भन्दा निकै फरक पाएँ । यहाँ सि.पि.एस र सि.पि.आ.एस प्रविधीबाट प्रि–प्राइमेरी र प्राईमेरी लेबलको अध्यन अध्यापन हुने रहेछ । मैले पनि तालिम लिने मौका पाएँ ।
सबैभन्दा ठूलो कुरा मेरो अनुभवमा विद्यालयमैत्री अर्थात शिक्षक शिक्षिका मैत्री भन्दा विद्यार्थीमैत्री शिक्षामा ध्यान दिइन्छ । हरेक विषयको परियोजना कार्य गराई कथामैत्री, खेलमैत्री अध्ययन अध्यापन गराइन्छ । आफ्ना शिक्षक शिक्षिकालाई आवश्यकता पर्ने तालिम प्रति विद्यालय प्रशासन एकदमै सजक छ ।
२०७६ सालमा पहिलोपल्ट नेपालमा भित्रिएको कोभिड–१९ ले विश्व लगाएत नेपालमा पनि त्राहिमाम फैलियो । फलस्वरूप नेपाल सरकारले लकडाउन गर्ने निर्णय गर्यो । जुन, २०७६ चैत्र ११ गतेदेखि लागू भयो । हाम्रो विद्यालयको वार्षिक परीक्षा २०७६ चैत्रको पहिलो हप्तानै समाप्त भइसकेको थियो । अब लकडाउन भयो चारैतिर बन्द छ कसरी विद्यालय सञ्चालन होला ?
विद्यालय त सबैभन्दा संवेदनशिल ठाउँ हो । नयाँ शैक्षिक सत्र कसरी होला ? भन्ने कौतुहलता जागेको थियो । विद्यालयको दुरदृष्टि र अग्रताका कारण तलदेखि माथीका शिक्षक शिक्षिकालाई तदारुकताका साथ प्रविधीमैत्री तालिम दिई अति चुस्त ढंगले अनलाइन कक्षा सञ्चालन गर्न विद्यालय प्रशासन सफल भयो ।
गोरखा स्कूलको अनलाईन कक्षा सफल भईरहँदा अन्य यस क्षेत्रका विद्यालयले अनलाईन कक्षा संचालन गर्न असमर्थ भएको देखियो । समय र समयको माग अनुसार विद्यालय र शिक्षक शिक्षिकालाई परिस्कृत गरी विद्यालयलाई देउखुरी क्षेत्रकै अब्बल र नमूनायोग्य विद्यालय बनाउन खट्नुहुने प्रिन्सिपल लगायत अन्य सर म्यामहरू धन्यवादका पात्र हुनुहुन्छ ।
देउखुरी क्षेत्रका अन्य निजी विद्यालय र गोरखा स्कूल पनि एउटै एउटै हो भन्ने मेरो भ्रम विद्यालयको एउटा अंग भएपछि अनुभव गर्ने मौका पाएँ । मेरो घर परिवारले भने मेरो छोरा प्रणव खड्का यस विद्यालयमा कक्षा आठमा पढ्दा बखत अनुभव गर्ने मौका पाउनुभयो । तसर्थ देउखुरी क्षेत्रकै अब्बल एवं नमूना विद्यालयको सर्वोपरी हितको अपेक्षासहित यस विद्यालय प्रति समर्पित हुने वाचा गर्दछु ।

तपाईको प्रतिक्रिया