नेपाली कांग्रेसले खाता खोल्यो, मुस्ताङमा २९ वर्षीय गौचन विजयी

 

 

प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले विजयको खाता खोलेको छ।

गण्डकी प्रदेशको मुस्ताङमा प्रतिनिधि सभा तर्फ मुस्ताङमा कांग्रेसले पहिलो जित हात पारेको हो।

प्रतिनिधि सभामा एक मात्र क्षेत्र रहेको मुस्ताङमा नेपाली काग्रेसका योगेश गौचन थकालीले एमालेका उम्मेदवार प्रेमबहादुर तुलाचनलाई पराजित गरेका हुन्।

गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे।

कांग्रेस नेता रोमी गौचन थकालीका २९ वर्षीय छोरा योगेशले इन्ट्रीमै बाजी मारेका हुन्। अघिल्लो चुनावमा एमालेका तुलाचनले कांग्रेसका रोमी गौचनलाई पराजित गरेका थिए।

झण्डै ४ दशक मुस्ताङको राजनीतिमा रजगज गरेका कांग्रेस नेता रोमी गौचन थकालीले यसपटक प्रतिनिधि सभाको टिकट आफ्नै छोरा योगेशलाई दिएका दिए ।

२०७४ को चुनावमा कम मतान्तरले कांग्रेस पराजित भएको क्षेत्रमध्ये मुस्ताङ पनि एक थियो । एमालेका तुलाचनले ३ हजार ५४४ मत पाएर निर्वाचित हुँदा कांग्रेसका रोमीले ३ हजार १८१ मत ल्याएका थिए ।

तपाईको प्रतिक्रिया