बासुदेव न्यौपाने
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दाङमा पनि उम्मेदवार चयनका लागि प्रमुख तीन दलका नेताहरूले गृहकार्य शुरू गरेका छन् । अहिले सबै दल प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको नाम सिफारिस गर्न व्यस्त देखिन्छन् ।

दाङमा विशेष गरी अहिले क्षेत्र नं. २ ले सबैको ध्यान केन्द्रित गरेको छ । दाङ एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा चुनाव लड्दै आएको जिल्ला हो । यि दुबै नेताको क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारी बन्ने लगभग पक्का जस्तै भएको छ ।
एमाले महासचिव पोखरेल एकल नाम सिफारिसमा परेको छन् भने माओवादीबाट महरासहित तीन जनाको नाम सिफारिसमा परेको छ ।
महरा दाङ क्षेत्र नं. २ सहित रोल्पा र दाङ क्षेत्र नं. १ बाट पनि सिफारिसमा परेका छन् । महराले भने क्षेत्र नं. २ बाटै उम्मेदवारी दिने घोषण गरिसकेका छन् । तर उनलाई क्षेत्र १ बाट पनि सिफारिस गरिनु महराले सुरक्षित स्थान खोजेका त होइनन् भन्ने चर्चा समेत चलेको छ ।
माओवाद केन्द्र राप्ती गाउँपालिकाले महरा क्षेत्र १ बाट नै उम्मेदवारी बन्ने दावी गर्दै आएको छ । तर गठबन्धनले दाङ क्षेत्र नं. १ एकिकृत समाजवादी, २ माओवादी र ३ नेपाली कांग्रेसका लागि विभाजन गरेको छ । जस अनुसार पनि महरा क्षेत्र नं. २ बाट नै उम्मेदवार बन्ने सम्भावना रहेको छ ।
२०७४ निर्वाचनमा तत्कालीन नेकपा हुँदा क्षेत्र नम्बर २ बाट महरा प्रतिनिधि सभा र पोखरेल प्रदेश सभामा चुनाव लडेका थिए । त्यसबोला महरालाई प्रतिनिधि सभा दिएर प्रदेश सभामा पोखरेल सहमत भएका थिए तर यस पटक भने पोखरेल र महरा दुबै क्षेत्र नं. २ बाट चुनाममा आमने–सामने हुने अवस्था देखिएको छ ।
पोखरेल क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभामा निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बने । महारा प्रतिनिधि सभा सदस्य हुदै सभामुख बन्ने अवसर पाए ।
२०७४ मा महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १४ हजार १ सय ४५ मतान्तरले हराएका थिए । महराले ४० हजार ४२ मत पाएका थिए भने खनालले २५ हजार ८९७ मत प्राप्त गरेक थिए ।
पोखरेलले प्रदेश सभाका लागि २ (क) बाट २० हजार ६ सय ९४ मत ल्याउँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १ सय ६९ मत मात्रै ल्याएका थिए । पाखरेल ९ हजार ५ सय २५ मत बढी प्राप्त गरी विजयी भएका थिए ।
एमाले महासचिव समेत रहेका पोखरेल अहिले क्षेत्र नं. २ मा बलियो देखिएका छन् ।एमालेले स्थानीय तह निर्वाचनमा गठबन्धनविरुद्ध घोराही र तुलसीपुर उपमहानगरपालिका जितेको छ भने, लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङको भालुवाङ क्षेत्र सार्न सफल भएपछि पोखरेललाई त्यसको केही फाइदा निर्वाचनमा हुने एमालेले अपेक्षा गरेको छ । जसबाट पनि गठबन्धन डराएको छ ।
गठबन्धनबाट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका नेता तथा शहरी बिकास मन्त्री मेटमणि चौधरी उम्मेदवार बन्ने चर्चा रहेको छ । तर माओवादी भने महरालाई क्षेत्र नं. १ बाट उम्मेदवारी बनाउन चाहेको छ । स्थानीय निर्वाचनमा राप्ती गाउँपालिका र गढवा गाउँपालिका जितेको माओवादीले महरालाई यस क्षेत्रबाट उम्मेदवारी दिन चाहेको हो ।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमाले महासचिव पोखरेल र माओवादीका उपाध्यक्ष तथा पुर्व सभामुख महरा एउटै क्षेत्रबाट चुनामी मैदानमा जादा कस्को पल्ला भारी हुने हो, हेर्न मंसिर ४ नै पर्खनु पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया