चोरीका मोबाइल बिक्री वितरण नगर्ने राप्तीका व्यवसायीहरूको प्रतिवद्वता

 

 

 

भालुवाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका स्थरीय राप्ती मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ स्थापना भएको छ । संघको स्थापनासँगै मोबाइल व्यवसायीहरूले चोरी निकासीको मोबाइल बिक्री वितरण नगर्ने प्रतिवद्वता जनाएका छन् ।

हरी खड्काको अध्यक्षता तथा राप्ती गाँउपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुबेदीको प्रमुख आथित्यतामा शनिबार दाङको भालुवाङमा राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै मोबाइल व्यवसायीहरूले चोरी निकासीका मोवाइलले व्यवसायीहरुलाई असर गरेको बताउदै आगामी दिनमा यस्ता चोरी निकासीको सामान बिक्री वितरण नगर्ने प्रतिवद्वता जनाएका हुन्।

गतहप्ता पालिका स्तरीय व्यवसायी संघ गठन गरि जिल्ला प्रशासन कार्यालयमा आधिकारिक रूपमा दर्ता गरेपछि संघको विधिवत उदघाटन गरिएको हो ।

संघले हरी खड्काको अध्यक्षतामा ११ कार्यसमिति गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा नवराज शाही, उपाध्यक्षमा बसन्त भट्टराई, महासचिवमा कमल खनाल, सचिवमा गोपाल पोख्रेल, कोषध्यक्षमा दोर्ण प्रसाद आचार्य रहेका छन् । यसैगरी सदस्यहरुमा मोहन आचार्य, विष्णु प्रसाद बोहरा, सुनिल चौधरी, जागृत भुसाल र युवराज भण्डारी रहेका छन् ।

कार्यक्रममा संघमा आवद्व व्यवसायीहरूलाई आजीवन सदस्य प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, निर्वतमान वडा अध्यक्ष ताराबहादुर डिसी, राप्ती उद्योग वाणिज्य संघका महासचिव नारायण शर्मा, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख तथा प्रहरी निरिक्षक सुजनविक्रम शाह, मोबाइल व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष दिपक पाण्डे, उपाध्यक्ष शालिकराम खनाल, शंकर अधिकारी, भिमसेन  जिसी, भिम भुसाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष नवराज शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अशोक बेल्वासेले गरेका थिए भने कार्यक्रमा अनुष्का आचार्य र प्रेरणा आचार्यले नृत्य प्रस्तुत गरेका थिए । o

तपाईको प्रतिक्रिया