राप्ती प्रेस मञ्चको कार्यालय उद्घाटन : राज्यका तीन अंगले नदेखेका समस्या सञ्चार क्षेत्रले देख्छ : अर्थमन्त्री धनेन्द्र कार्की

ओमप्रकाश गुप्ता
दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या सञ्चार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ।

 

दाङको राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरेको राप्ती प्रेस मञ्चको कार्यालय उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको आवाज राज्यसम्म पुर्‍याउने, राज्यका गतिविधिमाथि खबरदारी गर्ने तथा समाजलाई सही सूचनामार्फत सचेत बनाउने जिम्मेवारी सञ्चार क्षेत्रले निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। उहाँले पत्रकारिता पेशा लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै तथ्य र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो। “कुनै पनि समाचार सामाजिक सञ्जालमा आएका हल्ला र अपुष्ट सामग्रीका आधारमा प्रकाशन वा प्रसारण गर्नु हुँदैन,” मन्त्री कार्कीले भन्नुभयो, “पत्रकारले सत्य, तथ्य र विश्वसनीयतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ।” उहाँले पछिल्लो समय सामाजिक सञ्जालमा गलत सूचना फैलिने क्रम बढेकाले पत्रकारहरू अझ जिम्मेवार बन्नुपर्ने आवश्यकता रहेको पनि औंल्याउनुभयो।

कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले निष्पक्ष र उत्तरदायी पत्रकारितामा जोड दिन आग्रह गर्नुभयो। पत्रकारिताको धर्म र मर्मलाई आत्मसात् गर्दै समाजलाई सकारात्मक दिशामा लैजान सञ्चारकर्मीहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको भनाई थियो। “पत्रकारले कुनै पक्ष वा प्रभावमा नपरी सत्य तथ्यलाई प्राथमिकतामा राख्नुपर्छ,” उहाँले भन्नुभयो, “समाज परिवर्तन र सुशासनका लागि निष्पक्ष पत्रकारिता अपरिहार्य छ।”

त्यस्तै नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य लिला शाहले पत्रकारिताको आचारसंहितालाई सबै पत्रकारहरूले अनिवार्य रूपमा पालन गर्नुपर्ने बताउनुभयो। उहाँले पत्रकारिताको नाममा जे पायो त्यही लेख्ने वा बोल्ने छुट कसैलाई नभएको स्पष्ट पार्दै पत्रकारहरूले जिम्मेवार र मर्यादित ढंगले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पछिल्लो समय निजी सञ्चार माध्यमलाई विभिन्न ढंगबाट कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यसप्रति दुःख व्यक्त गर्नुभयो। पत्रकार महासंघ हाल सञ्चार क्षेत्रका समस्या र सञ्चारमाध्यममाथि भइरहेको विभेदका विरुद्ध आन्दोलनरत रहेको पनि उहाँले जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी राप्तीका सभापति दोर्ण जिसी, नेकपा एमालेका धर्मराज अधिकारी, राष्ट्रिय जनमोर्चा राप्तीका सचिव दलबहादुर घर्ती, नेपाली कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय सदस्य तथा युवा नेता प्रकाश शाही, नागरिक समाज देउखुरीका पुर्व संयोजक दामोदर भण्डारी, ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विक्रान्त ज्ञवाली , राप्ती प्रेस मञ्चका प्रमुख संरक्षक महेश रिजाल र सहयोगदाता रामु सुनाम लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

कार्यक्रममा बोल्ने वक्ताहरूले स्थानीय पत्रकारिताको विकास, सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि तथा सत्य पत्रकारिताको आवश्यकतामाथि जोड दिएका थिए।

कार्यक्रममा संस्थागत जानकारी सहितको प्रतिवेदन सन्तोषकुमार गुप्ताले प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य मञ्चकि महिला उपाध्यक्ष हुमा सुनारले राख्नुभएको थियो। कार्यक्रममा कार्यालय स्थापना तथा सञ्चालनका लागि सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा दाताहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नुभएको थियो ।

चार वर्षअघि स्थापना भएको राप्ती प्रेस मञ्चले आफ्नै कार्यालय स्थापना गर्न सफल हुनु संस्थाका लागि ऐतिहासिक उपलब्धि भएको बताइएको छ। मञ्चका महासचिव ओमप्रकाश गुप्ताका अनुसार लामो समयसम्म स्थायी कार्यालय नहुँदा बैठक सञ्चालन, प्रशासनिक कामकाज तथा दैनिक गतिविधि सञ्चालनमा समस्या भइरहेको थियो। “धेरै संघर्ष, मेहनत र विभिन्न व्यक्तिको सहयोगबाट हामीले आफ्नै कार्यालय स्थापना गर्न सफल भएका छौं,” उहाँले भन्नुभयो, “अब संस्थागत रूपमा थप व्यवस्थित ढंगले काम गर्न सहज हुने विश्वास लिएका छौं।”

मञ्चले राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरी बिहीबारदेखि नै नियमित कार्यसम्पादन सुरु गरिसकेको महासचिव गुप्ताले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यालय स्थापना भएपछि पत्रकारहरूबीच समन्वय, तालिम, छलफल, बैठक तथा अन्य संस्थागत गतिविधि सञ्चालनमा सहजता आउनेछ। स्थानीय पत्रकारितालाई थप सशक्त र प्रभावकारी बनाउन कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया