दाङ – लमहीमा पहिलोपटक लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना हुने भएको छ। अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र ‘प्रकृतिका साथीहरू’ नामक काठमाडौँस्थित संस्थाको संयुक्त आयोजनामा वैशाख १८ र १९ गते जैविक विविधता ग्रीनपार्कमा १३ औँ लाटोकोसेरो तथा हुचिल उत्सव सञ्चालन गर्न लागिएको हो।

बुधबार लमहीमा आयोजित पत्रकार सम्मेलनमा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले उत्सवको तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिए।
प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यका अनुसार किसानको साथीका रूपमा चिनिने लाटोकोसेरो अवैध व्यापार र चोरी सिकारका कारण संकटमा पर्न थालेपछि संरक्षणको सन्देश दिन उत्सव आयोजना गर्न लागिएको हो। ग्रामीण क्षेत्रमा चरा तथा वन्यजन्तु संरक्षणप्रति जनचेतना फैलाउने, स्थानीय संस्कृति प्रवद्र्धन गर्ने र पर्यटन आकर्षण बढाउने उद्देश्य रहेको उनले बताए।
वन्यजन्तु संरक्षणकर्मी चिरञ्जिबी खनालका अनुसार बासस्थानको अभाव, रासायनिक मल तथा विषादीको प्रयोग र सुरक्षित आहाराको कमीले लाटोकोसेरोको संख्या घट्दो अवस्थामा पुगेको छ। ठूला रुख कटान र परम्परागत घरको संरचना हराउँदै जाँदा यस प्रजातिले बस्ने र प्रजनन गर्ने ठाउँसमेत घट्दै गएको छ।
उत्सवका क्रममा पहिलो दिन चरा अवलोकन, लाटोकोसेरोसम्बन्धी अस्थायी लघु म्युजियम, रोबोट प्रदर्शनी तथा स्लाइड र भिडियो प्रस्तुति गरिनेछ। दोस्रो दिन संरक्षण, संस्कृति र लाटोकोसेरोसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शनी गरिने आयोजकले जनाएको छ।
उत्सवलाई आकर्षक बनाउन थारु, मगर, गुरुङ र कुमाल समुदायका सांस्कृतिक नृत्य, भजन तथा लोपोन्मुख स्थानीय खेल प्रतियोगितासमेत आयोजना गरिनेछ। साथै नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मास्कोट पनि प्रदर्शन गरिने जनाइएको छ।
लाटोकोसेरोले मुसा नियन्त्रण गरी कृषिमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले यसलाई किसानको साथी भनिन्छ। एउटा भाले, पोथी र बच्चासहितको समूहले एक सिजनमा करिब तीन हजारसम्म मुसा खाने तथ्य उल्लेख गरिएको छ।
नेपालमा लाटोकोसेरो तराईदेखि हिमालसम्म पाइने भए पनि यसको यकिन संख्या छैन। विश्वभर करिब २३० प्रजाति पाइन्छ भने नेपालमा करिब ८८६ प्रजातिका चरामध्ये ३९ प्रजाति संकटापन्न अवस्थामा रहेको तथ्यांक प्रस्तुत गरिएको छ।
उत्सवको ब्यानर नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, आयोजकका पदाधिकारी तथा संरक्षणकर्मीहरूको उपस्थितिमा अनावरण गरिएको छ। उत्सवलाई सहभागितामूलक बनाउन विद्यालयस्तरमा चित्रकला, कविता र निबन्ध प्रतियोगिता सञ्चालन, निमन्त्रणा वितरण लगायतका कार्यक्रम पनि अघि बढाइएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया