बजेट निर्माणलाई अनावश्यक ढंगले उछालिएकोप्रति मन्त्री ढकालको गम्भीर आपत्ति

दाङ—लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश सरकारको बजेट निर्माण प्रक्रियालाई कपोकल्पित ढंगले अनावश्यक विवादमा तानिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।

 

उहाँले बजेट निर्माण एक नियमित प्रक्रिया भएको र उक्त प्रक्रिया कुशलतापूर्वक सम्पन्न गरिए पनि त्यसलाई तोडमोड गरेर विवादास्पद बनाउन खोजिएकोमा आपत्ति जनाउनु भएको हो ।

‘बजेट निर्माण एउटा प्रक्रिया हो । त्यो पूरा भइसकेको छ । तर, यसलाई अनावश्यक रूपमा तोडमोड गरेर उछाल्न खोज्नुको कुनै औचित्य छैन,’ मन्त्री ढकालले भन्नुभयो,‘माननीय मुख्यमन्त्री हाम्रो अभिभावक हुनुहुन्छ । सोच्नै नसकिने विषयहरू जोडेर समाचार बनाउनु विश्वसनीय पत्रकारिता हहोइन । मर्यादित पत्रकारिताको मान्यता जोगाइराख्न जरुरी छ ।’

उहाँले सञ्चारजगतले आफ्नो विश्वास बचाइराख्नुपर्ने उल्लेख गर्दै तथ्यहीन प्रचारले नागरिकको विश्वास गुम्न सक्ने चेतावनी पनि दिनुभएको छ ।

मन्त्री ढकालका अनुसार लुम्बिनी प्रदेश सरकारले दोस्रो आवधिक योजनाले तोकेको दिगो विकास, समावेशीता र प्राथमिकताका आधारमा बजेट निर्माण गरेको हो ।

उहाँले बजेट प्रदेशको समग्र समृद्धि र विकासका लागि मार्गनिर्देशक हुने गरी तयार पारिएको स्पष्ट पार्नु भएको छ ।

तपाईको प्रतिक्रिया