
अफगानिस्तानको दक्षिणी सहर कान्दाहारस्थित एक अस्पतालमा एक सय ८० जना हैजाका संक्रमित भर्ना भएका छन्। अस्पतालका चिकित्सकका अनुसार बिहीबार एक सय ८० हैजाका संक्रमित भर्ना भएका हुन्।
चिकित्सकका अनुसार ‘हैजाबाट प्रभावित ७४ जना बिरामी शाह वालिकोट जिल्लाका रहेका छन् भने अन्य वरपरका क्षेत्रबाट आएका बिरामी रहेका छन्।
यस रोगले पहिले छिमेकी हेलमन्ड प्रान्तमा २० जना बालबालिकाको मृत्यु भइसकेको छ। हेलमण्ड प्रान्तको बाघरान जिल्लाको गाउँपालिकामा करिब एक सय ५० जनामा यो रोग लागेको स्थानीयले बताएका छन्।
शाह वलिकोट निवासी सामाजिक अगुवा करी अब्दुल्लाहले स्थानीय प्रशासन र मानवीय सहयोगका लागि काम गर्दै आएका संघसंस्थाहरूलाई त्यस क्षेत्रका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउन सहयोग गर्न आह्वान गरेका छन्।
स्वास्थ्य आधारभूत संरचनाको अभाव, स्वास्थ्य केन्द्रहरूको अभाव तथा गुणस्तरहीन स्वास्थ्य सेवाका साथै अफगानिस्तानका दुर्गम क्षेत्रहरूमा खाने पानीको अभावले गाउँलेहरू हैजाबाट प्रभावित भएको बताइएको छ।

तपाईको प्रतिक्रिया