कांग्रेसकी पुष्पा भुसालले उपसभामुखमा गरिन् मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनले संसद् सचिवालयमा पुगेर उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् ।

 

दुई वर्षअघि उपसभामुख शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएपछि २०७६ माघदेखि उपसभामुख पद रिक्त थियो।

भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार उपसभामुख निर्वाचनका लागि ३१ असारमा मतदान गर्ने कार्यसूची सार्वजनिक गरेका थिए । सोहीअनुसार कांग्रेस नेतृ भुसालले बानेश्वरस्थित संसद् भवनमा पुगेर मनोनयन दर्ता गराएकी हुन् ।

भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरी रहेका छन् । यो संसदको कार्यकाल मात्र चार महिना बाँकी छँदा उपसभामुखको निर्वाचन हुन लागेको हो ।

मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

तपाईको प्रतिक्रिया