साइलेन्ट महामारीको रुपमा देखिँदै एन्टिबायोटिक रेसिस्टेन्स, जनचेतना फैलाउदै स्वास्थ्य मन्त्रालय

बासुदेव न्यौपाने/देउखुरी । अधिकांश एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ । यसले आगामी केही समयमा विश्वभर ठुलो महामारीको रूप लिने अधिकारीहरूले औंल्याएका छन् । एन्टिबायोटिक औषधिले काम नगरेकै कारण सन् २०३० सम्म थप २ करोड ४० लाख मानिसहरू चरम गरिबीमा पुग्नेछन् । विश्व अर्थतन्त्रमा १ सय खर्ब अमेरिकी डलरको भार पर्ने छ ।

 

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा. बासुदेव उपाध्यायले लुम्बिनीमा एन्टिबायोटिक औषधिको प्रयोगको अवस्था अधिक भएको औँल्याएका छन् । एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग हुँदा यसले काम गर्न छाडेको उनको दाबी छ ।

‘जथाभावी एन्टिबायोटिकको सेवन, चिकित्सकले दिएको मात्रा पुरा नगर्नु, आफु खुसी छोड्दा यसको गम्भीर असर पर्छ’ उनले भने । उनले अहिलेसम्म उत्पादन भएका एन्टिबायोटिकले रोगसंग लड्न सक्ने क्षेमता घट्दै गएको अवस्थाले गर्दा भयाबहको अवस्था आउने खतरा बढेको बताए । एन्टिबायोटिकको प्रयोगले साइलेन्ट महामारीको रुपमो एन्टिबायोटिक रेसिस्टेन्स देखिँदै गएको डा. उपाध्याय बताउछन् । विश्वका प्रमुख १० विश्वव्यापी जनस्वास्थ्य खतराहरू मध्ये एक एन्टिबायोटिक रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि यो विषय उल्लेख गरेको छ ।

एन्टिबायोटिक आंैषधी विशेषगरी व्याक्टेरियल र इन्फेक्सनहरुमा प्रयोग गरिने वरिष्ठ फिजिसियन डा. सुर्दशन थापा बताउछन् । उनी भन्छन् ‘हाम्रो देशमा कुन अवस्थामा एन्टिवायोटिक चलाउने भन्ने प्रावधान नहुदा सबै प्रकारका स्वास्थ्य समस्यामा प्रयोग हुदै आएको छ । जसका कारण मानव शरिरमा यसले नकारात्मक असर पारिरहेको छ ।’ एन्टिवायोटिक चाहिन अवस्थामा वा कम प्रयोगका कारण पनि यसले रेसिस्टेन्स गर्ने चिकित्सकहरु बताउछन् । डा. थापाका अनुसार एन्टिवायोटिकको सेवनले नसर्ने रोगहरुमा दिइएको औषधिसँग तालमेल नमिल्दा समेत नकारात्मक असर पार्नुका साथै रेसिस्टेन्स हुन सक्छ ।

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशले आम नागरिकमा एन्टिबायोटिकको असर बारे जबसम्म जनचेतना दिन सक्दैन तवसम्म कानुन बनाएर मात्र समाधान नहुने भन्दै जनचेतनाका विषयलाई जोड दिएको छ । डा. उपाध्यय भन्छन् ‘त्यसकारण स्वास्थ्य मन्त्रालयको पहिलो कार्य नै आम जनतालाई सुचना प्रबाह गर्दै जनचेतना दिनु हो ।’ मन्त्रालयले चिकित्सक, स्वास्थ्य कर्मीहरुलाई पनि जथाभावी औषधि प्रेस्कप्ृसन नगर्न अनुरोध गदै विभिन्न कार्यक्रम गर्दै आएको छ । सचिव डा उपाध्यायले एन्टिबायोटिक रेसिस्टेन्सको विषयमा सबै एक भएर लड्नुको बिकल्प नभएको बताए ।

सन् २०१९ को एक अध्ययनले विश्वमा अनुमानित १२ लाख ७० हजार मानिसको मृत्युमा एएमआर जिम्मेवार रहेको छ । तर, नेपालमा अहिलेसम्म कुनै अनुसन्धानको रिर्पोट बाहिर नआए पनि हाल विश्वका गरिब देशहरूमा एन्टिबायोटिकले काम गर्ने क्षमतामा ह्रास आउँदै गएको पाइएको छ ।

डा. उपाध्यायका अनुसार विस्तारै एन्टिबायोटिक औषधिको काम गर्ने क्षमता शून्यमा पुग्दै गएको र उक्त समयमा देशले ठूलो क्षति ब्यहोर्नु पर्ने अवस्था आएको बताए । विशेषगरी पछिल्ला समयमा बच्चाहरुलाई आवस्यक नपरेको अवस्थामा समेत एन्टिवायोटिक दिने चलन बढेको छ, जसलाई रोक्न कानुन समेत बनिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

रोग निको पार्न चिकित्सकको सल्लाह विना, मात्रा नमिलाई औषधि सेवन गर्ने जस्ता समस्या रहेको र त्यसलाई रोक्न चूनौती रहेको मन्त्रालयले जनाएको छ । यसलाई नियन्त्रण गर्न मन्त्रालयले विभिन्न समयमा चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई समेत प्रशिक्षण दिनुको साथै आमजनतालाई जनचेतना जगाँउदै आएको छ । यसलाई नियन्त्रण गर्न कानुन बनेता पनि यसको पालना गर्न नसनु, कृषि क्षेत्रमा एन्टीवायोटी विषाधीको प्रयोग रोक्न नसक्नु थप चुनौती थपिएको छ ।

एन्टिबायोटिकको विकास भएको धेरै वर्ष भइसकेको छ । सन् १९८७ मा ‘लिनेजोलिड’ एन्टिबायोटिक अन्तिम पटक बनेको थियो । ३५ वर्ष यता कुनै नयाँ एन्टिबायोटिक बनेको छैन । एएमआर सङ्क्रमणको निगरानी व्यवस्थामा सुधार गर्ने, नीति, कार्यक्रमको सुधार गरि संक्रमण रोकथाम र नियन्त्रण कार्यन्वयनलाई बलियो बनाउने, औषधिको उत्पादन, उचित प्रयोग र विसर्जनलाई नियमन गर्ने र शुद्ध खानेपानी र स्वच्छ सरसफाइमा पहुँच बढाउन आवश्यक नीति तर्जुमा गरि अगाडी बडेको सचिव डा. उपाध्यायले बताए ।

एन्टिवायोटिक नियन्त्रण तथा रोकथामका लागि २०८१ पुष १७ गतेको मन्त्रीस्तरिय निर्णय अनुसार स्वास्थ्य मन्त्रालय प्रदेश सचिवको संयोजकत्वमा ‘प्रदेशस्तरिय प्रतिजैविक न्यूनिकरण तथा रोकथाम निर्देशक समिति’ गठन गरी काम अगाडी बढाईएको नसिङ अधिकृत चित्रा खनालले बताईन् । जसमा उपसचिव स्तरका सदस्य रहनेगरी योजना आयोग, स्वास्थ्य निर्देशनालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी तथा शहरी बिकास मन्त्रालय लगायतका रहेका छन् ।

एन्टिबायोटिक्स मानिसमा मात्र नभएर पशु पन्छि, वातावरणमा पनि प्रयोग हुदै आएको छ । जसको प्रत्यक्ष असर भने मानिसमा नै पर्ने गरेको छ । मानिस सामान्यरुपमा नबुझेर पनि एन्टिबायोटिक्सको प्रयोग गरेको पाइएको छ । अनुसन्धान अनुसार विश्वभर खपत हुने मध्ये एक तिहाइ एन्टिबायोटिक पशुमा प्रयोग हुनेगरेको छ । अझ गाई भैँसीको दूधमा यसको व्यापक असर देखिएको छ ।

खासमा मनलाग्दी रुपमा भएको एन्टिबायोटिक्सको खरिद, कृर्षी, पशु लगायत विभिन्न क्षेत्रमा अनावश्यक प्रयोग हुँदा तरकारी, कुखुराको मासु (दाना) तथा दुधमा बढी एन्टिबायोटिक्स पाइएको छ । तर, पछिलो समय कृषकहरु पनि एन्टिबायोटिक्स प्रयोगमा सचेत बन्दै गएका छन् । कुखुरा पालक कृषि फर्महरुले पछिल्लो समय एन्टिबायोटिक्सको प्रयोग गर्न छाडेका छन् । एन्टिबायोटिक्सको प्रयोग र त्यसको असर बारे पछिल्ला समय आएका सुचनाहरुले गर्दा कृषकहरु यसबाट केही पछि सरेको बुझिएको छ ।

देउखुरी कुखुरा पालक संघका अध्यक्ष अर्जुन अधिकारीका अनुसार पछिल्लो समय कुखुरामा एन्टिबायोटिक्सको प्रयोग कम हुने गरेको बताए । ‘पहिला कुखुरामा धेरै नै एन्टिबायोटिक्सको प्रयोग हुने गरेको थियो’, अध्यक्ष अधिकारीले भने ‘एन्टिबायोटिकले स्वास्थ्यमा धेरै नै असर पार्ने हुदा पछिल्लो समय देउखुरीका कुखुरा पालक कृषकहरुले एन्टिबायोटिक्स प्रयोग कम गर्दै गएका छौं ।’
डा. उपाध्याय भन्छन् ‘एक पटक जनचेतना गरेर मात्र समाधान हुने विषय होइन, यसको रोकथामका लागि निरन्तर जनचेतना फैलाउनु पर्ने हुन्छ । साथै आम नागरिक पनि सचेत हुन जरुरी रहन्छ ।’

 

तपाईको प्रतिक्रिया