भृकुटि महिला विकास बचत तथा ऋण सहकारी संस्थाले मनायो २३औं वार्षिकोत्सव

 

 

राप्ती । राप्ती गाउँपालिका–३ मा रहेको भृकुटि महिला विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २३औं वार्षिकोत्सव सामाजिक उत्तरदायित्व वहन गर्दै पृथक शैलीमा मनाएको छ।

 

संस्थाले वार्षिकोत्सव अवसरमा राप्ती गाउँपालिका–२ स्थित कालिका सामुदायिक बनद्वारा सञ्चालित पशु वृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रमा रहेका गाई तथा गोरुहरूलाई दाना तथा नुन खुवाएर मनाएको हो। साथै, संस्थाले सोही केन्द्रमा निर्माणाधीन गौशालाका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ बराबरको जस्तापाता सहयोग गर्ने घोषणा गरेको छ। संस्थाकी अध्यक्ष हिमानी न्यौपानेका अनुसार गौशाला निर्माण पूरा भएपछि जस्तापाता उपलब्ध गराइनेछ।

संस्थाकी व्यवस्थापक प्रमेश्वरी ज्ञवालीका अनुसार २३ वर्षे यात्रामा चौथो पटक मात्रै वार्षिकोत्सव मनाउने अवसर जुरेको हो। सामान्यतः माघ २९ गते हुने हुदा वार्षिकोत्सव मनाउन पाएका थिएनौ तर यस वर्ष माघ ३० गते परेकाले विशेष तरिकाले मनाइएको उनले बताइन्।

कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष तारा भण्डारी, अध्यक्ष हिमानी न्यौपाने, उपाध्यक्ष पार्वती सुवेदी, कोषाध्यक्ष सारदा भण्डारी, लेखा सुपरिवेक्षक सदस्य मेनुका शर्मा, कार्यसमिति सदस्यहरू तथा कालिका सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारीहरूको उपस्थिति थियो।

 

यो विशेष पहलले सहकारी संस्था मात्र नभई समग्र समाजले सामाजिक उत्तरदायित्वप्रति संवेदनशील हुनु आवश्यक छ भन्ने सन्देश दिएको छ।

 

तपाईको प्रतिक्रिया