अझै बनेन प्रदेशसभा भवन

दाङ । लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयनमा बिलम्ब देखिएको छ । केही मन्त्रालय ल्याए पनि काम पुरानै मुकामबाट भइरहेको बेला स्थायी मुकाममा संरचना निर्माणको काम पनि छिटो छरितो हुन सकेको छैन ।

 

मुख्यगरी प्रदेशसभा भवन निर्माण भएपछि स्थायी मुकामबाटै प्रदेशको काम गर्ने भनिएको छ तर काम शुरु भएको एक वर्ष नाघिसक्दा पनि निर्माणको काम सकिएको छैन । लुम्विनी प्रदेश पूर्वाधार विकास प्राधिकरण र वाईवी इन्फ्रा स्ट्रक्चर एण्ड सप्लायर्सबीच ०७८ वैशाख २४ गते निर्माण सम्झौता भएको थियो । साउन ३० गते अर्थात तीन महिनामा सक्नेगरी सम्झौता गरिएको प्रदेशसभा भवन आज १४ महिना पूरा हुँदा पनि निर्माण सकिएको छैन । कहिले डिजाइन फेर्ने, कहिले त्यही नाममा बजेट रोक्ने बहानाले समयमै निर्माण हुन नसकेको हो । भवन निर्माण गर्नै नसक्नेभन्दा पनि भवन निर्माणलाई लम्ब्याएर राजधानी कार्यान्वयनलाई पछि धकेल्नकै लागि काममा बिलम्ब भएको टिप्पणी हुन थालेको छ ।

यद्यपि निर्माण पक्षले प्रदेशसभा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । राप्ती प्राविधिक शिक्षालय परिसरमा निर्माणाधीन प्रदेश सभा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छवि पोख्रेलले जानकारी दिनुभयो । साउन महिनाभित्र काम सम्पन्न हुने र भदौ महिनामा प्रदेश सरकारलाई प्रदेशसभा भवन हस्तान्तरण गर्ने प्राधिकरणले जनाएको छ ।

तीन महिनाभित्र प्रिफ्याव मोडेलमा भवन निर्माण गर्ने सम्झौता भएको थियो । बीचमा डिजाइन फेरेर बनाउन थालिएपछि अर्थमन्त्रालयले बजेट रोकेको थियो । पछि पुरानै डिजाइनमा बनाउने सम्झौता अनुसार अहिले काम भइरहेको छ । अहिले दिनरात दुई सिफ्टमा काम भइरहेको वाईवी इन्फ्रा स्ट्रक्चर एण्ड सप्लायर्स घोराहीका इञ्जिनियर यज्ञबहादुर केसीले जानकारी दिनुभयो । ‘अन्तिम चरणको काम पेन्टिङ, वायरिङको काम बाँकी छ’– उहाँले भन्नुभयो– ‘थोरै फिनिसिङको काम बाँकी छ । त्यो अब आउँदो २० दिनभित्र हामीले गर्नुपर्ने सबै काम सम्पन्न गर्छौं ।’

‘९० प्रतिशत काम सकिएको छ । अब रङरोगन, विद्युतको काम बाँकी छ’– पोख्रेलले भन्नुभयो– ‘अहिले बनाइरहेको प्रदेशसभाको भवन अस्थायी हो । स्थायी भवनको काम अलि पछि शुरु हुन्छ । प्रदेश राजधानी कार्यान्वयनको लागि प्रदेशसभा भवनले ठूलो भूमिका खेल्छ भन्ने लागेको छ ।’ पाँच करोड २१ लाखको लागतमा प्रदेशसभा भवन बनिरहेको हो । भर्खरै बुटवलमा बसेको प्रदेशसभा बैठकलाई स्थायी राजधानीमा राख्ने भनिएको थियो । तर प्रदेशसभा भवन निर्माण कार्य सम्पन्न नहँुदा राख्न सकिएको थिएन । अब भदौ महिनापछि प्रदेशसभा भवनमा बैठक राख्न सकिने प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

‘प्रदेश स्थायी राजधानी कार्यान्वयनको लागि बनाइएको संरचना हो । यही सभाहलमा अबका बैठक राख्न सकिने गरी हामीले भवन हस्तान्तरण गर्ने हो’– प्रमुख कार्यकारी अधिकृत पोख्रेलले भन्नुभयो– ‘प्रदेश राजधानी कार्यान्वयनका लागि यो ऐतिहासिक भवन हुनेछ ।’ प्रदेशसभा भवन निर्माणाधीन छ । सचिवालयको भवन निर्माणको ठेक्का पनि लागि सकेको छ । सचिवालयको काम सम्पादन गर्नका लागि राप्ती प्राविधिक शिक्षालयले निर्माण गरेका भवनबाट गर्न सकिने सुझाव पूर्वाधार विकास प्राधिकरणको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेशका सबै संरचना निर्माण भएपछि सरकारले निर्णय गरेमा प्रदेशसभाका बैठक नयाँ भवनमा गर्न सकिनेछ । ‘सरकारले विजनेश थप्दैछ । सभा सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर, विद्युतीय साधनहरुको व्यवस्था, लाइभ प्रसारण जस्ता आधारभूत कुराहरु पूरा भएमा गर्न सकिन्छ’– उहाँले भन्नुभयो– ‘सभामा माननीय ज्यूहरु बसेर छलफल गर्ने वातावरण बनेमा बैठक राख्न सकिन्छ । यसको निर्णय सरकारले गर्नुपर्छ ।’ प्रदेशसभा भवनसँगै कार्यव्यवस्था शाखा, विधेयक शाखा र प्राविधिक शाखा स्थापना गर्नुपर्ने र यी शाखाहरु बनेमा बैठक सञ्चालन गर्न कुनै समस्या नपर्ने उहाँले बताउनुभयो ।

नयाँ युगबोध दैनिकबाट

तपाईको प्रतिक्रिया