अन्तरिक्षमा उड्ने लक्ष्य पुरा गर्दै दाङकी ज्योती

दाङ । अन्तरिक्षयात्री बन्नु जो कोहीका लागि कल्पना भन्दा बाहिरको कुरा हो । अझ भन्नु पर्दा नेपालीका लागि त यो संभावना नै छैन । तर एक नेपाली चेलीले यसको संभावना मात्र होइन अन्तरिक्षयात्रीको प्रमाणित भएकी छन् ।

 

उनी हुन् दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङ निवासी नर बहादुर केसी र चुमा केसीको छोरी ज्योती केसी ।

 

दाङ स्थित आफ्नै निवासमा ज्योती

प्लस टु को अध्ययन पुरा गरि पाँच वर्षअघि अर्थात सन् २०१७ मा डिभि चिठ्ठाले ज्योतीलाई अमेरिका तान्यो । उनको अमेरिका यात्राको एक मात्रै लक्ष्य थियो पारिवारिक आर्थिक स्तर माथि उकास्ने र एरोस्पेस इन्जिनियरिङको पढाइ गर्नुको साथै अनुसन्धान गर्ने थियो ।

पढाइकै क्रममा उनी तीन वर्ष पहिला अमेरिकी वायुसेनामा भर्ती हुन सफल भइन र अन्तत अहिले अन्तरिक्षयात्री बनेर नेपाल फर्केकी छन् । सम्भवतः उनी नै नेपालको पहिलो अन्तरिक्षयात्री पनि हुन् सफल भएकी छन् ।

२७ वर्षीया ज्योतिले भर्खरै एनालग अन्तरिक्षको प्रशिक्षण पूरा गरे नेपाल आएकी हुन् ।

ज्योतिले भनिन्, ‘मैले भर्खरै एनालग अन्तरिक्ष यात्री प्रशिक्षण पूरा गरेको छु र आधिकारिक रूपमा एनालग अन्तरिक्षयात्रीको रूपमा प्रमाणित भए २० दिनको बिदामा नेपाल आएको छु ।’ उनले जोडिन ‘अमेरिकी आर्मी भएर १३ महिनासम्म हाम्रो ट्रेनिङ चल्यो, अनि म एयर फोर्स आर्मी बनेँ ।’ सोही क्रममा उनका लागि अन्तरिक्षयात्री बन्र्ने अवसर मिल्यो ।

उनी एकै पटकमा अन्तरिक्षयात्री बन्न सफल भने हुन सकिनन् । ५० केजी तौल हुनु पर्नेमा ज्योती मात्र ३५ केजी भएको हुदा पहिलो चरणमा उनी सफल हुन सकिनन् । उनी भन्छिन् ‘मेरो लक्ष्य अन्तरिक्षयात्री बन्नु थियो । त्यसैले तीन महिनासम्म अथक प्रयास पछि मेरो ५० केसी तौल पुग्यो र दोस्रो पटकमा सफल हुन पाए ।’
सिरियस मिसनको कमाण्डर र इन्जिनियर समर्थनको रूपमा उनीसँग संसारभरबाट चार चालक दलका सदस्यहरू अमेरिका, मेक्सिको र पोल्याण्ड थिए । ज्योती भन्छिन् ‘यो हामी सबैको लागि एक अविश्वसनीय सिक्ने अनुभव थियो । तालिम पोल्याण्डमा दुई हप्तासम्म चलेको थियो, र म पहिलो नेपाली–अमेरिकी सहभागी (लुनारेस रिसर्च स्टेशन) थिए ।’

जहाँ नयाँ प्रविधिहरू रोबोटिक उपकरणहरू, सवारीसाधनहरू, बासस्थानहरू, सञ्चार, उर्जा उत्पादन, डिजाइन, गतिशीलता, एयरो र हाइड्रो प्लान्टेशन, आदि भूमिकाहरूमा उनीहरुको बारम्बार परीक्षण र अनुसन्धान गरिएको थियो । अलगाव र कैद टोली गतिशीलता, मेनु थकान र अन्य व्यवहार प्रभावहरू पनि अवलोकन गरियो । उनी सम्झन्छिन् ‘मलाई जीवनमा एकपटक अवसर दिइएको थियो, मेरा लागि यो बिल्कुलै नयाँ अनि चुनौती पूर्ण अभ्यास थियो, मैले पुरा गरे र म मेरा आमाबुवा, दाजुभाइ, आफन्त, साथीहरू र संयुक्त राज्य वायु सेना, तिनीहरूको ठूलो सहयोगको लागि मेरो आभार व्यक्त गर्न चाहन्छु ।’

पोल्याण्डमा अन्तरिक्ष यात्रीको कोर्ष पूरा गरेर अन्तरिक्ष यात्री बनेकी ज्योती अब नासासँगको सहकार्यमा रिसर्चका लागि उड्ने योजनामा छिन् । ‘अब मेरो लक्ष्य भनेको अन्तरिक्षमा पुग्ने हो ।” उने भनिन् ‘यो मेरोे जीवनको लक्ष्य हो, त्यहाँ पुग्न १०/१५ वर्ष नै किन नलागोस् ।’

बुवा आमाको साथमा ज्योती

ज्योतीका बुवा नरबहादुर केसीले आफ्नो सन्तानले यति धेरै प्रगती गर्दा गौरर्वान्वित भएको बताए । आफ्नो छोरीले मात्र होइन समाजले नै यसरी प्रगती गर्नु पर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया