स्वास्थ्य राज्यमन्त्री वलीले पदबाट दिएको राजीनामा स्वीकृत

बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

 

बुधबार बसेको प्रदेश सभा वैठकमा मुख्यमन्त्री केसीले माओवादी केन्द्रबाट स्वास्थ्य राज्यमन्त्री बनेकी विमला खत्री वलीले पदबाट दिएको राजीनामा सरकारले स्वीकृत गरेको जानकारी गराएका थिए ।

गत जेठ ३१ गते तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरे पनि उनी विवादमा तानिएकी थिइन् ।

नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तर कुमार वलीको दुर्घटनामा मृत्युपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् ।

नेकपा विभाजनपछि उनी एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लागेकी थिइन् ।

एमालेले उनलाई कारवाही गरी प्रदेशसभा सदस्यबाट निस्कासनको सूचना सभामुखलाई दिए पनि लुम्बिनीका सभामुखले उनलाई जोगाएपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

 

 

 

तपाईको प्रतिक्रिया