राप्ती गाउँपालिका द्वारा विपन्न युवा तथा महिलालाई उद्धमशिलता तालिम दिन सुरु

 

 

तुल बहादुर कवँर मगर
देउखुरी । दाङ –देउखुरीको राप्ती गाउँपालिकाले विपन्न युवा तथा महिलालाई उद्वमशिलता तालिम दिन सुरु गरेको छ।

उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सीप विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले विभिन्न वडामा विभिन्न प्रकारका सीप विकास तालिम दिन सुरु गरेको हो।

सोमबार वडा नम्बर ३ को खुरुरीयामा २ महिने कटाई सिलाई तालिम र वडा नम्बर ८ को पिपरीमा एक हप्ते सावुन तथा धुप निर्माण सम्बन्धी तालिम सुरु भएको छ।

तालिमको उद्वघाटन गर्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सीपले मानिसलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताउनुभयो। पछिल्लो चरण युवा पुस्ताहरु रोजगारीको सिलसिलामा विदेश पलायन हुने क्रम बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष विष्टले त्यस्ता युवाहरुलाई सीप विकास तालिम प्रदान गरी स्वदेशमै स्वरोजगार बनाउने उदेश्यले पालिकाले यस प्रकारको तालिम सञ्चालन गरेको बताउनुभयो।

त्यस्तै उहाँले सीप सिकेर कुनै व्यवसाय तथा उद्धम गर्न चाहाने युवा तथा महिलाहरुलाई पालिकाले बीउ पुजीको रुपमा केही रकम अनुदान समेत दिने बताउनुभयो ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले विगतमा पनि पालिकाले विभिन्न प्रकारका तालिमहरु सञ्चालन गरेको बताउदै तालिमलाई तालिममा मात्रै सिमित नराख्न सहभागीहरुलाई आग्रह गर्नुभयो। त्यस्तै उपाध्यक्ष चौधरीले सीप विकास तालिम लिई कुनै वस्तु उत्पादन गरे त्यस्तो वस्तुहरुको पालिकाले बजारीकरणमा सहयोग गर्ने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले गाउँपालिकाले सीप विकासमा थुप्रै लगानी गरेर विपन्न युवा तथा महिलाहरुलाई आत्मनिर्भर बनाउन खोजेको बताउँदै सीप सिक्ने अनि छाड्ने गर्न नहुने बताउनुभयो। उहाँले सीप सिकेर दिर्घकालिन फाइदा हुने हुदा तालिम लिएर व्यवसायमा परिणत गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो।

गाउँपालिकाले विभिन्न सीप विकास तालिमको लागि सूचना मार्फत प्रस्ताव माग गरेकोमा १ सय १९ जना व्यक्ति एवम् समूहले मात्रै प्रस्ताव पेश गरेको गाउँपालिकाकी उद्धम विकास शाखा प्रमुख बिनिता चौधरीले जानकारी दिनुभयो ।

उहाँहरुलाई प्रस्ताव पेश गरेको आधारमा विभिन्न तालिमहरु प्रदान गरिने शाखा प्रमुख चौधरीले बताउनुभयो।

खुरुरीयामा १५ जना महिलाहरु सहभागी भएको कटाई सिलाई तालिमको प्रशिक्षकमा सोनी चौधरी रहनु भएको छ भने १३ जना सहभागी पिपरीमा सञ्चालन भएको साबुन तथा धुप उत्पादन गर्ने तालिमको प्रशिक्षकमा सुस्मिता थापा मगर र सहायक प्रशिक्षकमा नन्दी थापा रहनु भएको छ।

तालिम उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ ,वडा नं.३ कि कार्यबाहक अध्यक्ष चम्फा भुसाल, जिल्ला समन्वय समिति सदस्य दुर्पती चौधरी, प्रशिक्षक सुस्मिता थापा मगर लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो भने वडा सदस्य दयाराम चौधरी,गाउँपालिकाका प्रशासन शाखा प्रमुख विकास ज्ञवाली, उद्धम विकास शाखा प्रमुख बिनिता चौधरी, उद्धम विकास सहजकर्ता अमिता चौधरी लगायतको सहभागीता रहेको थियो ।

पालिकाले यस अघि वडा नं.८ मै गार्मेन्ट सम्बन्धी ३ महिने एड्भान्स तथा डिजाइनिङ सीप विकास तालिम सुरु गरि सकेको छ भने केही दिनमै अन्य वडाहरुमा पनि अन्य तालिम सञ्चालन गर्ने बताएको छ।

तपाईको प्रतिक्रिया