
बासुदेव न्यौपाने
देउखुरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन विपरित लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले राजधानी क्षेत्र बाहिर कार्यक्रम सञ्चालन गरिरहेको छ ।
राप्ती उपत्यका मै गर्नु पर्ने कार्यक्रमहरु बुटवल लगायत बाहिरी क्षेत्रमा हुन थाले पछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले पत्र काटेर स्वास्थ्य निर्देशनालयलाई सम्पूर्ण कार्य स्थायी राजधानी राप्ती उपत्यकामा गर्नु गराउनु भनेको छ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगंजको प.सं. अनु–१/०८०/०८१, च.नं. २२०४३ मिती २०८० कार्तिक १४ गतेको निर्णय अनुसार कार्यान्वयन गर्नु गराउनु भनेको छ ।
स्वास्थ्य मन्त्रालयले २०८० पुष १ गतेको सचिवस्तर निर्णयानुसार स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश स्वास्थ्य तालिम केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई पुष २ गते पत्राचार गर्दै सम्पूर्ण कार्यक्रमहरु लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) क्षेत्रमा संचालन गर्ने/गराउने भनेको छ ।
लुम्बिनी प्रदेशको स्थायि राजधानी क्षेत्र राप्ती उपत्यकाबाट सम्पूर्ण प्रशासनिक कार्य हुदै आएका छ । तर कतिपय विभाग, निर्देशनालय अस्थायी मुकामबाट संचालन हुदै आएका छन्।
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगत रहेको स्वास्थ्य निर्देशनालय राप्ती उपत्यका(देउखुरी), प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवल, प्रदेश स्वास्थ्य तालिम केन्द्र रुपन्देही, प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगर बुटवलमा कार्यलय रहेका छन् ।
स्वास्थ्य निर्देशनालय राप्ती उपत्यका(देउखुरी) भालुवाङबाट प्रशासनिक कार्य संचालन हुदै आएतापनि धेरै जसो कार्यक्रम राप्ती उपत्यका(देउखुरी) भन्दा बाहिर हुने गरेको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद कुमार गिरी लगायत फोकल पर्शनहरुको घर बुटवल भएकै कारण धेरै जसो कार्यक्रमहरु बुटवलमा नै हुने गरेको स्वास्थ्य मन्त्रालयको स्रोतले बताएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धन आयोगको कार्यालयको पत्र र स्वास्थ्य मन्त्रालयको निर्देशनलाई व्यवास्था गर्दै निर्देशनालयले कार्यक्रमहरु राप्ती उपत्यका भन्दा बाहिर गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया